मुख्यमन्त्री सम्मेलन आजदेखि विराटनगरमा

ईनेपालपत्र संबाददाता , ८  पटक हेरिएको

विराटनगर, २७ असोज । कोशी प्रदेश सरकारको आयोजनामा सातै प्रदेशका मुख्यमन्त्रीहरूको सहभागितामा हुने दुईदिने ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन–२०८३’ मङ्गलबारदेखि विराटनगरस्थित बिग होटलमा सुरु हुँदैछ । अन्तरप्रदेशीय समन्वय, संघीयताको संस्थागत सुदृढीकरण तथा विकास साझेदारीका साझा एजेन्डामा केन्द्रित सम्मेलनमा दुई दिनसम्म सघन छलफल गरी ‘कोशी घोषणा–२०८३’ जारी गर्ने कार्यतालिका तय गरिएको छ । सातै प्रदेशबीचको सम्बन्ध प्रगाढ बनाउने तथा साझा अधिकारको प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलनको पहिलो दिन आज बिहान ९ बजे कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा उद्घाटन सत्र हुनेछ । उद्घाटन सत्रमा कोशी प्रदेशका सभामुख तथा सातै प्रदेशका मुख्यमन्त्रीहरूले शुभकामना मन्तव्य राख्नेछन् भने प्रदेश योजना आयोगका उपाध्यक्षले कार्यक्रमको अवधारणा प्रस्तुत गर्नेछन् ।

त्यसपछि बिहान ११ः२० बजेदेखि सुरु हुने दोस्रो सत्रमा सातै प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्षहरू र कोशी प्रदेशका मुख्यमन्त्रीका आर्थिक सल्लाहकारले आआफ्ना प्रदेशका प्रमुख उपलब्धि, नवीन अभ्यास, सफल कार्यक्रम तथा सिकाइ प्रस्तुत गर्ने कार्यतालिका छ ।

दिउँसो २ बजेदेखि सुरु हुने विषयगत सत्रमा संघीयता र विकास साझेदारीसम्बन्धी दुई महत्त्वपूर्ण विषयमा कार्यपत्र प्रस्तुत हुनेछन् । पहिलो सत्रमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष विपिनराज निरौलाको अध्यक्षतामा संघीयताविद् डा। खिमलाल देवकोटाले ‘अन्तरप्रदेशीय समन्वय र सहकार्य, अन्तर्राष्ट्रिय अभ्यास, नेपालको संघीयता र संस्थागत विकासको मार्गचित्र’ विषयक कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । उक्त कार्यपत्रमा संवैधानिक कानुनविद् डा। विपिन अधिकारीले टिप्पणी गर्नुहुनेछ ।

दोस्रो सत्रमा मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा। सुवासश्री पोखरेलको अध्यक्षतामा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा। दीपेशकुमार घिमिरेले ‘साझा समृद्धिका लागि अन्तरप्रदेशीय विकास साझेदारी ः आर्थिक एकीकरण, कनेक्टिभिटी, प्राकृतिक स्रोत तथा विपद् व्यवस्थापन’ विषयक कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । उक्त कार्यपत्रमा वित्त आयोगका पूर्वअध्यक्ष बालानन्द पौडेलले टिप्पणी गर्नुहुनेछ ।

अपराह्न ४ बजेपछि समानान्तर रूपमा दुईवटा सत्र सञ्चालन हुनेछन् । हल–१ मा घोषणापत्रका विषय पहिचान गरिनेछ भने हल–२ मा मुख्यमन्त्रीहरूसँग स्थानीय उद्योगी–व्यवसायीहरूको उत्पादन तथा निर्यात प्रवर्द्धनसम्बन्धी अन्तरक्रिया हुनेछ । साँझ इटहरीस्थित सोल्टी वेस्टइन्डमा सांस्कृतिक कार्यक्रमसहित रात्रिभोज आयोजना गरिएको छ ।

बुधबार ‘कोशी घोषणा–२०८३’ जारी गरिने
सम्मेलनको दोस्रो दिन सातै प्रदेशबीच विकास साझेदारीका विषयमा साझा प्रतिबद्धतासहितको कोशी घोषणा–२०८३’ जारी गरिनेछ । घोषणापत्रमा सातै प्रदेशका मुख्यमन्त्रीहरूले हस्ताक्षर गर्ने कार्यतालिका छ । सो अवसरमा निजी क्षेत्रका संस्था मोरङ व्यापार संघ, उद्योग संगठन र सीएनआई कोशीले मायाको चिनो प्रदान गर्नेछन् ।

दिउँसो १२ः३० बजे पत्रकार सम्मेलनमार्फत घोषणापत्र सार्वजनिक गरेपछि प्रतिनिधिमण्डल कोशीटप्पु वन्यजन्तु आरक्षको अवलोकन भ्रमणमा निस्कनेछ ।

सम्मेलनमा सहभागी हुन सुदूरपश्चिम प्रदेशबाहेक अन्य प्रदेशका मुख्यमन्त्रीहरू विराटनगर आइसकेका छन् । बजेट ल्याउने अन्तिम तयारीमा रहेकाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको सहभागिता नहुन पनि सक्ने अनुमान गरिएको छ । यद्यपि, अन्तिम समयसम्म पनि सम्मेलनमा सहभागी हुने प्रयास भइरहेको जानकारी प्राप्त भएको कोशी प्रदेशका मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले बताउनुभयो ।

सम्मेलनमा प्रत्येक प्रदेशबाट मुख्यमन्त्री, प्रमुख सचिव, योजना आयोगका उपाध्यक्ष र मुख्यन्यायाधिवक्तासहितको प्रतिनिधिमण्डल सहभागी हुनेछ । अतिथिहरूको स्वागतका लागि कोशी प्रदेश सरकारका मन्त्रीहरू खिनु लङ्वा, जीवन आचार्य, तिलचन पाठक, रामप्रसाद मेहता, गीता तिम्सिना र विदुरकुमार लिङ्थेपलाई जिम्मेवारी तोकिएको छ ।

 

-गाे.प. वाट

प्रकाशित मिति: २०२६-१०-१३ , समय : ०८:२५:३३ , २ घन्टा अगाडि