ईनेपालपत्र संबाददाता , ५४ पटक हेरिएको
भोजपुर, २८ भदौ । भोजपुरमा उत्पादन हुने अकबरे अर्थात् डल्ले खुर्सानीले पछिल्लो समय जिल्लाबाहिरका बजारमा राम्रो पहुँच बनाएको छ । सडक तथा यातायात सुविधा विस्तार भएसँगै गाउँमा उत्पादित खुर्सानी काठमाडौँ, धरान, विराटनगर, झापालगायतका ठूला सहरमा पुग्न थालेको हो ।
अकबरे खुर्सानीको व्यावसायिक खेतीबाट राम्रो आम्दानी हुन थालेपछि भोजपुरका किसान यसतर्फ आकर्षित भएका छन् । स्थानीय बजारमै प्रतिकेजी रु १५० देखि रु २०० सम्म बिक्री हुने खुर्सानीको माग बाह्य जिल्लामा समेत उच्च रहेको किसान बताउँछन् । पौवादुङमा गाउँपालिका–२ तिवारीभञ्ज्याङको सङ्कलन केन्द्रबाट मात्रै दैनिक ३०० देखि ४०० केजीसम्म खुर्सानी बाहिरी बजारमा पठाउने गरिएको स्थानीय किसान टिकाराम तिवारीले बताए । उनका अनुसार व्यापारीहरू अहिले किसानका खेतबारी तथा सङ्कलन केन्द्रमै पुगेर खुर्सानी खरिद गर्ने गरेका छन् ।
भोजपुर नगरपालिका–५ बोखिमकी किसान कमला थापाले उत्पादन भएको खुर्सानी बिक्रीका लागि अहिले समस्या नरहेको बताइन् । यहाँको पहाडी हावापानीमा उत्पादन हुने अकबरे खुर्सानी पिरो र स्वादिलो हुने भएकाले बाहिरी जिल्लामा माग बढेको उनको भनाइ छ । कृषि ज्ञान केन्द्र भोजपुरका प्रमुख मुकेशकुमार यादवका अनुसार यस वर्ष जिल्लामा करिब ५४५ हेक्टर क्षेत्रफलमा अकबरे खुर्सानी खेती भइरहेको छ । गत आर्थिक वर्षमा पाँच हजार २३२ मेट्रिकटन खुर्सानी उत्पादन हुँदा करिब रु २३ करोड जिल्लामा भित्रिएको थियो । स्थानीय तहले समेत किसानलाई खेती विस्तारका लागि अनुदान सहयोग गर्दै आएकाले अकबरे खुर्सानी भोजपुरका किसानका लागि आकर्षक आम्दानीको स्रोत बन्दै गएको छ ।
प्रकाशित मिति: २०२६-०९-१३ , समय : ११:१३:३३ , २ घन्टा अगाडि