हेटौँडा–काठमाडौं जोड्न वैकल्पिक सडक सञ्चालनको तयारी, मुख्यमन्त्रीद्वारा स्थलगत निरीक्षण

Enepal Patra Pvt. Ltd. , ५  पटक हेरिएको

काठमाडौ, २० भदौ । बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौं आवागमनलाई सहज र निरन्तर बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी सडकलाई वैकल्पिक मार्गका रूपमा सञ्चालनमा ल्याउने तयारी थालेको छ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा पहिरोका कारण पटक-पटक यातायात प्रभावित भएपछि प्रदेश सरकारले उक्त सडकखण्डको आवश्यक मर्मत तथा स्तरोन्नति गरी सञ्चालनयोग्य बनाउन प्रक्रिया अघि बढाएको हो।

मुख्य राजमार्गमा हुने अवरोधका कारण राजधानी र प्रदेश राजधानीबीचको आवतजावत ठप्प हुने समस्या न्यूनीकरण गर्न वैकल्पिक सडकलाई प्राथमिकतामा राखिएको मुख्यमन्त्री किरण थापा मगरले बताए।

मुख्यमन्त्री थापा, भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसी, मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्ठा र भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामासहितको टोलीले बिहीबार सो सडकखण्डको स्थलगत निरीक्षण गरेको थियो।

मुख्यमन्त्री थापाका अनुसार चालु आर्थिक वर्षमै प्रदेश सरकारले बजेट विनियोजन गरिसकेकाले सडकको अवस्था हेरी तत्काल मर्मतको काम अघि बढाइनेछ। यो सडक पूर्ण रूपमा सञ्चालनमा आएपछि मुख्य राजमार्ग अवरुद्ध हुँदा पनि यात्रु तथा सवारीसाधन सहजै गन्तव्यसम्म पुग्न सक्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०२६-०९-०५ , समय : १८:४८:०५ , २ घन्टा अगाडि