श्रुति हासनले ‘एआई डिपफेक’ विरुद्ध दायर गरिन अदालतमा मुद्दा दायर

Enepal Patra Pvt. Ltd. , ९  पटक हेरिएको

मुम्बई, १९ साउन । अमिताभ, अभिषेक र ऐश्वर्या राय बच्चनदेखि लिएर रश्मिका मन्डन्ना, अक्षय कुमार र सुनील शेट्टीजस्ता कलाकारहरूसम्म धेरैले ‘एआई डिपफेक’ र आफ्नो पहिचानको दुरुपयोग विरुद्ध कानुनी कारबाही अघि बढाएका छन् र यसका लागि अदालतको ढोका ढकढक्याइ सकेका छन्। यस सूचीमा थपिने पछिल्लो नाम श्रुति हासन हुन्, जसले ‘पर्सनालिटी राइट्स’ अर्थात व्यक्तिगत पहिचानसम्बन्धी अधिकार र एआई डिपफेक सामग्रीका सम्बन्धमा बम्बे उच्च अदालतमा निवेदन दर्ता गराएकी छिन्।

 

श्रुति हासनले आफ्नो व्यक्तित्व र प्रचारसम्बन्धी अधिकारको उल्लङ्घन गर्ने एआईद्वारा सिर्जित सामग्री, तोडमोड गरिएको सामग्री, नक्कली विज्ञापन र अनाधिकृत व्यापारिक सामग्री विरुद्ध आदेश जारी गर्न माग गर्दै निवेदन दिएकी छिन्।

 

अदालतले हासनलाई यस विषयमा व्यावसायिक मुद्दा दायर गर्ने अनुमति दिएको छ, जसमा उनले आफ्नो बौद्धिक सम्पत्ति अधिकारको उल्लङ्घन भएको दाबी गर्न सक्छिन्। अन्तरिम राहतको विषयमा छिट्टै सुनुवाइ हुने सम्भावना छ।

 

यस निवेदनमा फेसबुक, युट्युब, मेटा, इन्स्टाग्राम र एक्स लगायतका सामाजिक सञ्जाल प्लेटफर्महरू तथा अज्ञात व्यक्तिहरूलाई विपक्षी बनाइएको छ। निवेदनमा आफ्नो अनुमति बिना नै आफू अंकित पोस्टरहरू बिक्री भइरहेको दाबी गरिएको छ। हसनले आफ्ना अधिकारहरूको उल्लङ्घन गर्ने किसिमका सामग्रीलाई बढावा दिएको भन्दै यी सामाजिक सञ्जाल प्लेटफर्महरू माथि आरोप लगाएका छन्।

 

उनले अनलाइनमा एआईद्वारा सिर्जना गरिएका त्यस्ता भिडियोहरू रहेको आरोप लगाएकी छिन्, जसले उनलाई अन्य कलाकारहरूसँग प्रेम सम्बन्धमा रहेको भनी गलत रूपमा चित्रण गर्छन्। ‘बार एन्ड बेन्च’को प्रतिवेदन अनुसार अन्य प्रतिवादीहरूमा सेलिब्रेटी बुकिङ तथा इन्डोर्समेन्ट प्लेटफर्महरू, फेसन र गहना सम्बन्धी प्लेटफर्महरू तथा सामाजिक सञ्जाल कम्पनीहरू, विशेष गरी गुगलको युट्युब, मेटाको फेसबुक र इन्स्टाग्राम, एक्स कर्प र पिन्टरेस्ट समावेश छन्। हसनले यी प्लेटफर्महरूमाथि आफ्ना अधिकारको उल्लङ्घन गर्ने सामग्री राखेको वा प्रवर्द्धन गरेको आरोप लगाएकी छिन्।

प्रकाशित मिति: २०२६-०८-०४ , समय : १०:२४:१३ , ३ घन्टा अगाडि