ईनेपालपत्र संबाददाता , २८ पटक हेरिएको
वविता राई
तेह्रथुम,१७ साउन । तेह्रथुम सदरमुकाम म्याङ्लुङमा रु सात करोड ५३ लाखको लागतमा निर्माण सम्पन्न भएको बसपार्क दुई वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन।
प्रदेश सरकारको लगानीमा निर्माण गरिएको बसपार्कमा अपाङ्गमैत्री शौचालय, टर्मिनल भवन, बसपार्क पहुँचमार्ग, बस विश्राम सेड, आरसिसी पार्किङ क्षेत्र तथा गार्ड हाउस निर्माण गरिएको छ।
सघन सहरी तथा भवन निर्माण आयोजना, धनकुटामार्फत निर्माण भएको बसपार्कको ठेक्का आशिष आशीर्वाद जेभीले २०७६ असारमा सम्झौता गरी २०८१ असारमा सम्पन्न गरेको थियो। स्थानीय नौ जनाले दान गरेको १० रोपनी जग्गामा बसपार्क निर्माण गरिएको हो।
गत पुस ८ गते कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बसपार्कको उद्घाटन गर्नुभएको थियो। सोही अवसरमा पूर्वाधार विकास कार्यालय, तेह्रथुमले बसपार्क म्याङ्लुङ नगरपालिकालाई हस्तान्तरण गरेको थियो। उद्घाटनका दिन पुगेका सवारीसाधनबाहेक त्यसयता बसपार्कमा नियमित रूपमा कुनै पनि सवारीसाधन सञ्चालनमा आएका छैनन् भने यात्रुको चहलपहलसमेत देखिएको छैन।
स्थानीय लालकुमार पयाङ्गु लिम्बूले बसपार्क निर्माण भए पनि सञ्चालनमा नआउँदा सरकारी लगानी उपयोगविहीन बनेको बताउनुभयो।
यातायात व्यवसायी सरोज तामाङले बसपार्क बजार क्षेत्रबाट टाढा र पायक नपर्ने स्थानमा रहेकाले हालको अवस्थामा सवारीसाधन लैजान व्यावहारिक कठिनाइ रहेको बताउनुभयो।
म्याङ्लुङ नगरपालिका–२ मा निर्माण गरिएको बसपार्कसम्म पुग्ने सडक साँघुरो रहेको छ। केही भाग कच्ची भएकाले वर्षायाममा सवारीसाधन सञ्चालन गर्नसमेत कठिन हुने अवस्था रहेको स्थानीय विश्वराज तुम्बाहाङ्फेले बताउनुभयो। बसपार्क सञ्चालनअघि पहुँचमार्ग स्तरोन्नति गर्नुपर्नेमा नगरपालिकाको ध्यान पर्याप्त रूपमा नपुगेको उहाँको भनाइ छ।
स्थानीय तहको कानुनअनुसार बसपार्क सञ्चालन तथा मर्मत–सम्भारको जिम्मेवारी नगरपालिकाको हो।
म्याङ्लुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाङ्फेले दशैंपछि बसपार्क सञ्चालनमा ल्याउने तयारी भइरहेको बताउनुभयो। बसपार्क सञ्चालनका लागि ठेक्का प्रक्रिया अघि बढाइने तथा बसपार्कसम्म पुग्ने सडकको मर्मतसम्भार गरी नियमित सञ्चालनको व्यवस्था गरिने उहाँले जानकारी दिनुभयो।
प्रकाशित मिति: २०२६-०८-०१ , समय : १९:११:२८ , ३ घन्टा अगाडि