भारतमा परीक्षा काण्डले उग्र रूप ! आन्दोलन चर्किएपछि मोदी पहिलोपटक बोले, राहुल गान्धीको कडा प्रहार- ‘दयनीय’

निरोज ढकाल , १०  पटक हेरिएको

भारतभर मेडिकल शिक्षा प्रवेश परीक्षा (NEET) को प्रश्नपत्र लिक प्रकरणलाई लिएर आन्दोलन चर्किएपछि प्रधानमन्त्री नरेन्द्र मोदी पहिलोपटक सार्वजनिक रूपमा बोलेका छन्। आन्दोलनको बढ्दो दबाबबीच मोदीले मध्यराति भिडियो सन्देश जारी गर्दै प्रश्नपत्र लिकमा संलग्नलाई कडा कारबाही गरिने र फास्ट–ट्र्याक अदालतमार्फत छिटो न्याय दिलाइने बताएका छन्।

 

‘हाम्रा युवाको भविष्यभन्दा ठूलो कुनै विषय छैन,’ भन्दै मोदीले दोषीलाई कुनै हालतमा नछोड्ने प्रतिबद्धता जनाए। तर आन्दोलनकारीले भने सरकारको आश्वासन पर्याप्त नभएको भन्दै आन्दोलनलाई अझ सशक्त बनाउने घोषणा गरेका छन्।

 

दिल्लीसहित भारतका विभिन्न शहरमा हजारौँ विद्यार्थी र युवाहरू सडकमा उत्रिएका छन्। उनीहरूले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा, परीक्षा प्रणालीमा व्यापक सुधार, आन्दोलनकारीमाथि लगाइएका मुद्दा फिर्ता र परीक्षा रद्द भएपछि ज्यान गुमाएका विद्यार्थीका परिवारलाई क्षतिपूर्तिको माग गरेका छन्।

 

सरकारले शिक्षा मन्त्रालयका सचिवलाई हटाए पनि शिक्षामन्त्रीलाई पदमै राखेपछि आन्दोलनकारी थप आक्रोशित बनेका छन्। कक्रोज जनता पार्टीका नेता अभिजित दिपकेले ‘दिल्ली बन्द गर्न तयार सरकार शिक्षामन्त्री हटाउन भने तयार छैन’ भन्दै आलोचना गरेका छन्।

 

उता, विपक्षी नेता राहुल गान्धीले मोदीको भिडियो सन्देशलाई ‘मध्यरातको दयनीय प्रतिक्रिया’ भन्दै कडा टिप्पणी गरेका छन्। उनले शिक्षामन्त्रीलाई तत्काल बर्खास्त गर्न, आन्दोलनकारीमाथि भएको बल प्रयोगको छानबिन गर्न र सरकारले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेका छन्।

 

भारतमा बढ्दो आन्दोलनले केन्द्र सरकारमाथि राजनीतिक दबाब झन् तीव्र बनेको छ भने आन्दोलन अझै जारी रहने संकेत देखिएको छ।

प्रकाशित मिति: २०२६-०७-२४ , समय : १५:०६:५३ , ३ घन्टा अगाडि