तुलसी बहुउद्देश्यीय सहकारी: ऋण नतिरे कानुनी कारबाहीको चेतावनी

ईनेपालपत्र संबाददाता , ४  पटक हेरिएको

काठमाडौं, २३ असार । समस्याग्रस्त घोषित तुलसी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड का ऋणीहरूको विवरण सार्वजनिक गर्दै समस्याग्रस्त सहकारी व्यवस्थापन समिति ले ऋण असुली प्रक्रिया थप कडाइका साथ अघि बढाएको छ। समितिले सहकारीका ३७७ जना ऋणीको नामावली सार्वजनिक गर्दै बाँकी दायित्व तत्काल भुक्तानी गर्न आग्रह गरेको हो।

समितिका अनुसार उपलब्ध ऋण अभिलेखका आधारमा नामावली सार्वजनिक गरिएको हो। यस क्रममा साविकमै ऋण चुक्ता गरिसकेका तर नाम सूचीमा समावेश भएका व्यक्तिहरूलाई आवश्यक प्रमाणसहित समितिको कार्यालयमा उपस्थित भई विवरण सच्याउन अनुरोध गरिएको छ।

त्यसैगरी, ऋण तिर्न बाँकी रहेका ऋणीहरूलाई यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी बक्यौता चुक्ता गर्न भनिएको छ। तोकिएको समयमै दायित्व पूरा नगरे प्रचलित कानुनअनुसार असुली तथा अन्य कानुनी प्रक्रिया अघि बढाइने समितिले चेतावनी दिएको छ।

समितिले समस्याग्रस्त सहकारीबाट बचतकर्ताको रकम फिर्ता गराउने, वित्तीय अनुशासन कायम गर्ने तथा बचतकर्ताको हित संरक्षण गर्ने उद्देश्यले ऋणीहरूको नामावली सार्वजनिक गरिएको स्पष्ट पारेको छ।

प्रकाशित मिति: २०२६-०७-०७ , समय : ११:४०:०५ , ३ घन्टा अगाडि