ईनेपालपत्र संबाददाता , २७ पटक हेरिएको
काठमाडौं २९ जेठ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध आजैका मितिदेखि आधिकारिक रूपमा अन्त्य भएको घोषणा गरेका छन् । जर्जियामा आयोजित एक भर्चुअल राजनीतिक र्यालीलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले संयुक्त राज्य अमेरिका र इरानबीच ऐतिहासिक शान्ति सम्झौता भएको दाबी गरे ।
ह्वाइट हाउसको ओभल कार्यालयबाट पत्रकारहरूसँग कुरा गर्दै उनले इरानका सर्वोच्च नेता मोजतवा खामेनीले सम्झौताका सबै सर्तहरूमा सहमति जनाइसकेको स्पष्ट पारेका छन् । इरानी सर्वोच्च नेता सम्झौतामा सहमत हुनुहुन्छ भनी सोधिएको प्रश्नमा ट्रम्पले दृढताका साथ भने, ‘मेरो बुझाइमा जवाफ पूर्ण रूपमा ‘हो’ भन्ने नै हो, उहाँहरू यो सम्झौताका लागि हामीभन्दा बढी उत्सुक हुनुहुन्छ ।’
राष्ट्रपति ट्रम्पका अनुसार यस सम्झौताको मुख्य सफलता इरानले कहिल्यै पनि आणविक हतियार खरिद वा विकास नगर्ने सर्तलाई पूर्ण रूपमा स्वीकार गर्नु हो, जुन अमेरिकी सैन्य अभियानको ९५ प्रतिशत मुख्य उद्देश्य थियो । वार्ता शीर्ष तहमा पुगेर स्वीकृत भइसकेकाले इरानमाथि बिहीबार राति गर्न लागिएका शक्तिशाली क्षेप्यास्त्र प्रहार तथा सैन्य बम्बारिका योजनाहरू राष्ट्रपति ट्रम्पले पूर्ण रूपमा रद्द गरेका छन् ।
यस सम्झौतालाई इजरायल, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स ९यूएई०, कतार र पाकिस्तान लगायतका राष्ट्रहरूले समेत अनुमोदन गरिसकेको दाबी ट्रम्पले गरेका छन् । सम्झौता पत्रको मस्यौदा अन्तिम चरणमा पुगिसकेकाले यसै सप्ताहान्तमा अमेरिकी उपराष्ट्रपति जेडी भान्सको उपस्थितिमा युरोपमा हस्ताक्षर समारोह हुने र त्यसलगत्तै हर्मुज जलडमरूको नाकाबन्दी हटाई अन्तर्राष्ट्रिय व्यापारका लागि खुला गरिनेछ ।
यद्यपि, अमेरिकी राष्ट्रपतिको यो दाबी सार्वजनिक भएसँगै इरानी तर्फबाट भने केही संयमित प्रतिक्रिया आएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मस्यौदाका धेरै बुँदाहरूमा सहमति जुटेको स्विकार्दै हालसम्म इरान सरकार कुनै ‘अन्तिम निष्कर्ष’ मा भने नपुगिसकेको प्रतिक्रिया दिएका छन् ।
यता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले ट्रम्पसँगको संवादमा इजरायल यस समझदारीको प्रत्यक्ष हिस्सेदार नरहे पनि भविष्यमा हुने विस्तृत वार्ताले इरानको आणविक पूर्वाधार पूर्ण रूपमा भत्काउने कुरामा अमेरिका प्रतिबद्ध रहने विश्वास व्यक्त गरेका छन् । ट्रम्पको यो नाटकीय घोषणासँगै विश्वव्यापी बजारमा तेलको मूल्यमा भारी गिरावट आएको छ भने सेयर बजारमा उत्साह छाएको छ ।
प्रकाशित मिति: २०२६-०६-१२ , समय : १२:३१:५९ , २ घन्टा अगाडि