निरोज ढकाल , ११ पटक हेरिएको

काठमाडौं-२६,जेठ । नवनियुक्त गृहमन्त्री सुदन गुरुङले २०५८ सालको दरबार हत्याकाण्डको छानबिन प्रक्रिया अघि बढाउने निर्णय गरेको खबर सार्वजनिक भएको छ। यो खबर सार्वजनिक भएपछि देशभर यसको चर्चा सुरु भएको छ। नेपालको इतिहासकै सबैभन्दा चर्चित र रहस्यमय घटनाका रूपमा रहेको दरबार हत्याकाण्डबारे वर्षौँदेखि विभिन्न प्रश्नहरू उठ्दै आएका छन्। घटनाको सत्यतथ्य सार्वजनिक हुनुपर्ने माग समय–समयमा दोहोरिँदै आएको अवस्थामा गृहमन्त्री गुरुङको उक्त निर्णयलाई महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।
गृहमन्त्री गुरुङले घटनासम्बन्धी उपलब्ध अभिलेख, प्रमाण तथा विगतमा भएका अनुसन्धानहरूको पुनरावलोकन गर्दै आवश्यक प्रक्रिया अगाडि बढाउने तयारी गरेको बताइएका छन्। यस निर्णयसँगै दरबार हत्याकाण्डबारे नयाँ तथ्यहरू उजागर हुने अपेक्षा गरिएको छ।
२०५८ साल जेठ १९ गते भएको दरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्यसहित राजपरिवारका अधिकांश सदस्यको निधन भएको थियो। घटनाबारे तत्कालीन छानबिन भए पनि त्यसको निष्कर्षलाई लिएर विभिन्न कोणबाट प्रश्न उठ्ने क्रम भने अहिलेसम्म रोकिएको छैन।
गृहमन्त्री गुरुङको निर्णयले लामो समयदेखि ओझेलमा परेको यो विषयलाई पुनः राष्ट्रिय बहसको केन्द्रमा ल्याएको छ। अब सरकारले छानबिनलाई कुन स्वरूपमा अगाडि बढाउँछ र त्यसबाट के निष्कर्ष निस्कन्छ भन्ने विषयलाई आम नागरिकले चासोका साथ हेरिरहेका छन।
प्रकाशित मिति: २०२६-०६-०९ , समय : २०:०२:०९ , ३ घन्टा अगाडि