ईनेपालपत्र संबाददाता , ४९ पटक हेरिएको
लेटाङ, २६ जेठ । वैदेशिक रोजगारीका लागि अजरबैजान पठाइदिने भन्दै ठूलो रकम संकलन गरेर सम्पर्कविहीन बनेका मोरङको लेटाङ नगरपालिका–९ का पुण्यप्रसाद निरौला र उनकी श्रीमती सरिता निरौलाविरुद्ध पीडितहरूले प्रहरीमा उजुरी दिएका छन्। झण्डै ७० जनाबाट करिब २ करोड रुपैयाँ उठाएर फरार भएको आरोप लागेका उनीहरूविरुद्ध मुद्दा दर्ता गरी कानुनी कारबाही प्रक्रिया अघि बढाउन प्रहरीले सक्रियता बढाएको छ।
पीडितहरूका अनुसार निरौला दम्पतीले अजरबैजानमा आकर्षक रोजगारी दिलाइदिने आश्वासन दिँदै विभिन्न व्यक्तिबाट नगद तथा बैंकमार्फत लाखौँ रुपैयाँ संकलन गरेका थिए। पथरीशनिश्चरे–४ का सुयोग गौतम र पथरीशनिश्चरे–१० का निर्मलप्रसाद अधिकारीले जनही ४ लाख ५० हजार रुपैयाँ बुझाएका थिए भने मिक्लाजुङ ५ का खगेन्द्र फुयालले ९ लाख २० हजार रुपैयाँ बुझाएको बताएका छन्। एजेन्टहरूले ई भिसा, वर्क परमिट तथा हवाई टिकटसमेत देखाएर प्रक्रिया लगभग पूरा भएको विश्वास दिलाएको पीडितहरूको भनाइ छ।
तर निर्धारित समयमा विदेश जान नसकेपछि आफूहरू ठगिएको आशंका बढ्दै गएको र त्यसपछि निरौला दम्पती सम्पर्कविहीन बनेको पीडितहरूले बताएका छन्। उनीहरू भारततर्फ गएको सूचना पाएपछि केही पीडितहरू खोजीका लागि भारतको पञ्जाबस्थित मोहालीसम्म पुगेका थिए। प्राप्त जानकारीअनुसार उनीहरूलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लेटाङ ल्याउने तयारी भइरहेको छ।
पीडितमध्ये लेटाङ ९ की टीका मोतेले छोरालाई विदेश पठाउने उद्देश्यले ऋण लिएर ३ लाख ४० हजार रुपैयाँ बुझाएको बताउँदै अहिले परिवार आर्थिक र मानसिक समस्यामा परेको गुनासो गरिन्। गाउँकै चिनजानका व्यक्तिबाट यस्तो घटना भएपछि आफूहरू थप पीडामा परेको उनको भनाइ छ।
इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक सागर साहका अनुसार केही पीडितहरूको उजुरी दर्ता भइसकेको छ भने अन्यले पनि उजुरी दिने तयारी गरिरहेका छन्। “उजुरीका आधारमा अनुसन्धान अगाडि बढाइएको छ। पक्राउ परेका व्यक्तिविरुद्ध कानुनी प्रक्रिया अघि बढाइनेछ,” उनले बताए। वैदेशिक रोजगारीका नाममा हुने ठगीका घटना बढिरहेका बेला प्रहरीले आधिकारिक प्रक्रिया र सरकारी स्वीकृत म्यानपावरमार्फत मात्र विदेश जाने व्यवस्था अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
प्रकाशित मिति: २०२६-०६-०९ , समय : १७:१४:४८ , २ घन्टा अगाडि