समाल डाँडाबाट देखिने लेटाङको मनमोहक दृश्य, गर्मीयाममा आन्तरिक पर्यटकको आकर्षण

निरोज ढकाल , १६  पटक हेरिएको

 

लेटाङ -८,जेठ। मोरङको लेटाङ नगरपालिका–६ स्थित समाल डाँडाबाट देखिने लेटाङ क्षेत्रको मनमोहक दृश्य अहिले आन्तरिक पर्यटक तथा स्थानीयहरूको आकर्षण बन्दै गएको छ। विशेषगरी गर्मी महिनामा चिसो हावा खान, प्राकृतिक सौन्दर्य अवलोकन गर्न तथा झापादेखि बेलबारीसम्मको दृश्य हेर्न दैनिक रूपमा सयौंको सङ्ख्यामा मानिसहरू यहाँ पुग्ने गरेका छन्।

 

लेटाङ बजारबाट करिब ४ किलोमिटरको यात्रा तय गरेपछि पुगिने यो स्थान शान्त वातावरण, हरियाली वन क्षेत्र र खुला दृश्यका कारण पछिल्लो समय चर्चित बन्दै गएको छ। यहाँबाट पूर्वतर्फ झापा र पश्चिमतर्फ बेलबारीसम्मको भू–दृश्य स्पष्ट रूपमा अवलोकन गर्न सकिन्छ। समाल डाँडा पुग्नका लागि पैदल यात्रुहरूले लेटाङ गुवाबारी–आपडाँडा क्षेत्रबाट सिधै पश्चिमतर्फको पदमार्ग प्रयोग गर्न सक्छन्। यस्तै सवारी साधनमार्फत जानेहरूका लागि पाटापुर हुँदै अर्को बाटो निर्माण गरिएको छ, जसले यात्रुलाई सहज पहुँच प्रदान गरेको छ।

 

प्राकृतिक सौन्दर्य र शान्त वातावरणका कारण समाल डाँडा लेटाङ क्षेत्रकै सम्भावित पर्यटकीय गन्तव्यका रूपमा विकास हुन सक्ने स्थानीयवासीको विश्वास रहेको छ।

प्रकाशित मिति: २०२६-०५-२२ , समय : १६:४८:५५ , ६ घन्टा अगाडि