काठमाडौंको गेस्ट हाउसमा लेटाङका युवा मृत फेला, परिवारद्वारा निष्पक्ष छानबिनको माग

ईनेपालपत्र संबाददाता , ४४  पटक हेरिएको

मोरङ, ८ जेठ । मोरङको लेटाङ नगरपालिका–१ आरुबोटेका कर्ण मगर काठमाडौंस्थित एक गेस्ट हाउसमा मृत अवस्थामा फेला परेका छन्। मलेसियाबाट छुट्टीमा घर आएका मगर पुनः रोजगारीका लागि मलेसिया फर्किने क्रममा काठमाडौं पुगेका थिए। जेठ ७ गते काठमाडौंको न्यु नेपाल गन्ज तनहु गेस्ट हाउसमा उनको शव फेला परेपछि परिवार तथा आफन्त शोकमा डुबेका छन्।
परिवारका अनुसार मगर केही समयअघि मलेसियाबाट घर आएका थिए र छुट्टी सकेर फर्किने क्रममा काठमाडौंमा बसेका थिए। तर, अचानक गेस्ट हाउसमा मृत भेटिएको खबर आएपछि परिवारले घटनालाई सङ्कास्पद मृत्यु भएको दाबी गर्दै निष्पक्ष छानबिन तथा सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्। मृतकका एक आफन्तले टेलिफोनमार्फत “बिनाकारण तन्दुरुस्त मान्छे अचानक मृत्यु हुनुको पछाडि केही न केही कारण हुन सक्छ, हामीलाई सङ्का लागेको छ,” भन्दै घटनाको वास्तविकता बाहिर ल्याउन आग्रह गरेका छन्।
उता, घटनाबारे जानकारी दिँदै काठमान्डौ प्रहरी बृतका सुचमा अधिकारी दीप शम्शेर जवराले शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाइएको जानकारी दिएका छन्। उनका अनुसार प्रारम्भिक पोस्टमार्टम रिपोर्ट अझै प्राप्त नभएको र घटनाबारे थप अनुसन्धान भइरहेको छ। प्रहरीले पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै मृत्युको कारण खुल्ने जनाएको छ भने मृतकका परिवार तथा स्थानीयवासीले घटनाको निष्पक्ष अनुसन्धान गरी सत्य सार्वजनिक गर्न माग गरिरहेका छन्।

प्रकाशित मिति: २०२६-०५-२२ , समय : १२:४६:२२ , १० घन्टा अगाडि