विद्यालय भर्ना अभियानमा लेटाङ नगरपालिकाको जोड

प्रशान्त निराैला , १३  पटक हेरिएको

लेटाङ, ५ जेठ । मोरङको लेटाङ नगरपालिकाले विद्यालय उमेरका सबै बालबालिकालाई विद्यालय भर्ना गराई आधारभूत शिक्षा पूरा गराउन अभिभावक, विद्यालय र समुदायलाई सक्रिय भूमिका खेल्न आग्रह गरेको छ।
नगरपालिकाले सार्वजनिक गरेको सूचनामार्फत ५ देखि १३ वर्ष उमेर समूहका बालबालिकालाई अनिवार्य रूपमा विद्यालय वा वैकल्पिक शैक्षिक संस्थामा भर्ना गराई नियमित अध्ययन सुनिश्चित गर्न अनुरोध गरेको हो। आधारभूत तह अर्थात् कक्षा ८ सम्मको शिक्षा अनिवार्य रहेको व्यवस्था कार्यान्वयनमा सबै पक्षको सहकार्य आवश्यक रहेको नगरपालिकाले जनाएको छ।
सूचनामा बालबालिकालाई उमेर अनुसार उपयुक्त कक्षामा भर्ना गराउन तथा बीचमै पढाइ छोड्न नदिन अभिभावकलाई विशेष आग्रह गरिएको छ। साथै विद्यालयहरूलाई बालमैत्री वातावरण निर्माण गरी सिकाइलाई प्रभावकारी बनाउन निर्देशन दिइएको उल्लेख छ।
अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ अनुसार आधारभूत तह उत्तीर्ण नगरेका व्यक्तिहरू भविष्यमा सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका विभिन्न सेवा, नियुक्ति र जिम्मेवारीमा अयोग्य ठहरिन सक्ने व्यवस्था रहेको पनि नगरपालिकाले स्पष्ट पारेको छ।
नगरपालिकाका अनुसार वि।सं। २०६३ असोज २ गतेपछि जन्मिएका सबै बालबालिकाले भविष्यमा अवसर प्राप्त गर्न विद्यालय शिक्षा अनिवार्य रूपमा पूरा गर्नुपर्ने भएकाले विद्यालय भर्ना अभियानलाई सफल बनाउन सबै सरोकारवालाको साथ आवश्यक रहेको जनाएको छ।

प्रकाशित मिति: २०२६-०५-१९ , समय : ०७:३३:४३ , २ घन्टा अगाडि