निरोज ढकाल , १५ पटक हेरिएको
मोरङ-४, बैशाख ।कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून राज्यमन्त्री उमाकान्त गौतम ले आइतबार मोरङको उर्लाबारी नगरपालिका–९ स्थित मावा खोलाले कटान गरेको क्षेत्रको प्राविधिक टोलीसहित स्थलगत अनुगमन गर्नुभएको छ।
मावा खोलाको तीव्र कटानका कारण स्थानीय बस्ती, सडक तथा खेतीयोग्य जमिन उच्च जोखिममा परेपछि प्रदेश सरकारको पहलमा तटबन्ध निर्माण प्रक्रिया अघि बढाइएको हो। वर्षायाममा खोलाको बहाव बढेसँगै कटान झन् तीव्र हुने भएकाले स्थानीयवासी लामो समयदेखि त्रासमा बस्दै आएका छन्।
अनुगमनका क्रममा जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नं. १ गैडे, झापा जिल्ला तथा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय मोरङ जिल्ला मार्फत सो क्षेत्रमा तटबन्ध निर्माण गरिने जानकारी दिइएको छ।
राज्यमन्त्री गौतमका अनुसार चालु आर्थिक वर्षमा तटबन्ध निर्माणका लागि कोशी प्रदेश सरकारबाट ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। उक्त बजेटबाट तत्काल आवश्यक काम सुरु गरिने र बाँकी निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने उहाँले बताउनुभयो।
अनुगमनका क्रममा राज्यमन्त्री गौतमले स्थानीयको समस्या समाधान प्रदेश सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै जोखिम न्यूनीकरणका लागि आवश्यक पहल निरन्तर गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
यसैबीच वडा अध्यक्ष नरबहादुर मोक्तान ले वर्षौंदेखि मावा खोलाको कटानका कारण स्थानीय बस्ती र उर्वर खेतीयोग्य जमिन जोखिममा पर्दै आएको बताउनुभयो। पटक–पटक सम्बन्धित निकायमा समस्या राख्दा पनि समाधान हुन नसकेको अवस्थामा प्रदेश सरकारले चासो देखाएर अनुगमन गर्नु सकारात्मक कदम भएको उहाँको भनाइ छ।
उहाँले समयमै प्रभावकारी तटबन्ध निर्माण सम्पन्न भए स्थानीय बासिन्दाले वर्षायाममा भोग्दै आएको त्रास अन्त्य हुने र कृषियोग्य जमिन समेत जोगिने विश्वास व्यक्त गर्नुभयो।
अनुगमनमा वडा सदस्य प्रकाश कन्दङ्वा लगायत स्थानीय जनप्रतिनिधि, प्राविधिक टोली र स्थानीयवासीको सहभागिता रहेको थियो।
प्रकाशित मिति: २०२६-०५-१८ , समय : १२:०१:०० , २ घन्टा अगाडि