ईनेपालपत्र संबाददाता , १२ पटक हेरिएको
लेटाङ, ४ जेठ । पछिल्लो समय गाउँघरमा कर्मकाण्ड गर्न दक्ष गुरु–पुरोहितको अभाव बढ्दै जाँदा युवापुस्ताको आकर्षण गुरूकुल शिक्षातर्फ बढ्न थालेको छ । तर, वैदिक परम्पराअनुसार निःशुल्क रूपमा संस्कृत तथा कर्मकाण्ड शिक्षा प्रदान गरिँदै आएका गुरूकुलहरू भने स्रोत–साधन अभावका कारण सञ्चालन संकटमा पर्दै गएका छन् ।
मोरङको लेटाङ–९ जाँतेस्थित बैजनाथ अधिकारी प्रारम्भिक संस्कृत विद्यापीठमा हाल २२ जना ब्राह्मण समुदायका बाल बटुकहरूले आवासीय रूपमा गुरूकुल शिक्षा लिइरहेका छन् । सरकारी सहयोगबिनै सञ्चालन भइरहेको विद्यापीठले कक्षा ५ सम्मको औपचारिक शिक्षासँगै चण्डी, रुद्री, वेद, गीता, अमरकोष, न्याय, भाषा तथा व्याकरण अध्यापन गर्दै आएको छ । प्रधानाध्यापक एकराज भट्टराईका अनुसार अध्ययनरत विद्यार्थीहरू धेरैजसो पढाइ पूरा नहुँदै व्यवसायिक गुरु–पुरोहितका रूपमा काम गर्न थाल्ने गरेका छन् ।
विद्यापीठ सञ्चालक समितिका अध्यक्ष सोमनाथ निरौलाका अनुसार २०६६ सालमा जाँतेमा मानव बसोवास भएको शताब्दी वर्षको अवसरमा आयोजित महापुराणबाट गुरूकुल स्थापना गर्ने आधार तयार भएको हो । पूर्वीय शास्त्रका ज्ञाता खेमराज केशवशरणले मन्दिरभन्दा गुरूकुल सञ्चालन गर्नुपर्ने सुझाव दिएपछि स्थानीयले जग्गा तथा नगद सङ्कलन गरी विद्यापीठ स्थापना गरेका थिए । हाल करिब १० कट्ठा क्षेत्रफलमा बनेका चारवटा साना भवनमा विद्यार्थीहरूलाई निःशुल्क खान, बस्न र पोशाकको व्यवस्था गर्दै संस्कृत शिक्षा प्रदान गरिँदै आएको छ ।
स्थानीयवासीको मुष्ठिदान र सहयोगकै भरमा सञ्चालन भइरहेको विद्यापीठमा शिक्षक तथा कर्मचारीको नियमित तलब व्यवस्थापन गर्न भने कठिनाइ हुने गरेको सञ्चालक समितिका सदस्य अम्बिकाप्रसाद अधिकारीले बताउनुभयो । लेटाङ नगरपालिकाले वार्षिक तीन लाख रुपैयाँ सहयोग गर्दै आएको तथा महर्षि फाउण्डेसनले एकजना गुरुको खर्च व्यहोरे पनि त्यो पर्याप्त नभएको अध्यक्ष निरौलाको भनाइ छ । उहाँले संस्कृत शिक्षा लिएर पनि दक्ष जनशक्ति उत्पादन गर्न सकिने उल्लेख गर्दै राज्यको पर्याप्त सहयोग भए नेपालका विद्यार्थी भारत जानुपर्ने बाध्यता अन्त्य हुने बताउनुभयो ।
प्रकाशित मिति: २०२६-०५-१८ , समय : ०९:४८:५४ , २ घन्टा अगाडि