निरोज ढकाल , ११ पटक हेरिएको
लेटाङमा ३३ औँ मदन–आश्रित स्मृति दिवस मनाइयो
लेटाङ/मोरङको लेटाङ वडा नं. ९ स्थित मदनचोकमा ३३ औँ मदन–आश्रित स्मृति दिवस विविध कार्यक्रमका साथ मनाइएको छ। नेकपा एमाले वडा नं. ९ कमिटीको आयोजनामा सम्पन्न कार्यक्रममा स्वर्गीय नेता मदन कुमार भण्डारी को सालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो।
कार्यक्रममा वडा कमिटी अध्यक्ष बद्री नारायण निरौलाको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिका रूपमा नेकपा एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा सहभागी हुनुभएको थियो। कार्यक्रममा प्रदेश कमिटी सदस्यहरू भुपेन्द्र कुमार लावती, दिपेश राई लगायत जिल्ला कमिटीका सदस्यहरूको उपस्थिति रहेको थियो।
२०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा भएको रहस्यमय सवारी दुर्घटनामा परी तत्कालीन नेकपा एमाले महासचिव मदन कुमार भण्डारी तथा संगठन विभाग प्रमुख जिबराज आश्रित को निधन भएको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
सालिकमा माल्यार्पण सम्पन्न भएपछि शिवालय मन्दिर को सभा हलमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रदेश कमिटी सदस्य तथा लेटाङ नगर कमिटी इन्चार्ज भुपेन्द्र कुमार लावतीले नेकपा एमाले नाता–सम्बन्धभन्दा विचारबाट निर्माण भएको पार्टी भएकाले वर्तमान परिस्थितिमा आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो। उहाँले पार्टीका संगठनात्मक गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै आन्तरिक कमजोरीहरूलाई पार्टीभित्रै छलफल गरेर समाधान गर्दै अघि बढ्नुपर्ने धारणा राख्नुभयो।
त्यसैगरी, प्रदेश अध्यक्ष घनश्याम खतिवडाले मदन भण्डारीले अघि सारेको “जनताको बहुदलीय जनवाद” को सिद्धान्तबाट निर्देशित नेकपा एमाले नेपाली जनताको लोकप्रिय पार्टी भएको उल्लेख गर्नुभयो। उहाँले एक–दुई वटा निर्वाचनमा पराजित हुँदैमा पार्टीको अस्तित्व समाप्त नहुने बताउँदै सबै धर्म, जाति, वर्ग र समुदायका मुद्दालाई समेटेर पार्टीले अघि सारेको विकास र राष्ट्रियताको एजेन्डा नेपाली जनताको हितमा रहेको धारणा व्यक्त गर्नुभयो।
उहाँले पार्टी पंक्तिलाई एकजुट भएर संगठन सुदृढीकरण र जनताको सेवामा समर्पित हुन आग्रह गर्नुभयो।
प्रकाशित मिति: २०२६-०५-१७ , समय : ११:१०:१२ , २ घन्टा अगाडि