मदन भण्डारी राजमार्ग अन्तरगत लेटाङ–केरावारी खण्ड अलपत्र

प्रशान्त निराैला , १४  पटक हेरिएको

लेटाङ, १८ बैशाख। मदन भण्डारी राजमार्ग अन्तर्गतको लेटाङ–केरावारी सडक खण्डको स्तरोन्नति कार्य लामो समयदेखि अलपत्र परेको छ। श्रेष्ठ–मोतिदान जे.भी.ले निर्माणको जिम्मा पाएको यो योजनाको सम्झौता अवधि २०८० भदौ २८ गते नै सकिएको भए पनि हालसम्म ठोस काम सुरु हुन सकेको छैन। सम्झौता सकिएको दुई वर्ष बित्न लाग्दा समेत निर्माण व्यवसायी र सम्बन्धित निकायको ढिलासुस्तीले गर्दा सडकको अवस्था दयनीय बनेको छ।
​करिब ७४ करोड ६३ लाख रुपैयाँको लागतमा धरान–झापा सडक खण्ड अन्तर्गत सर्दु खोलादेखि भालुवा खोलासम्म कालोपत्रे गर्ने लक्ष्य राखिएको थियो। २०७८ असारमा सम्झौता भए पनि यति ठूलो बजेटको राष्ट्रिय गौरवको आयोजना कार्यान्वयन नहुँदा सरकारी संयन्त्रको कार्यक्षमतामाथि गम्भीर प्रश्न उठेको छ। मदन भण्डारी राजमार्ग आयोजना कार्यालय दमकको कार्यक्षेत्रभित्र पर्ने यो खण्डमा ठेकेदार कम्पनीको लापरवाहीले काम अघि नबढेको स्थानीयको आरोप छ।
​सडक निर्माणमा ढिलाइ हुँदा बर्खायाममा हिल्लामे र हिउँदमा धुलाम्य सडकका कारण यात्रु र स्थानीय बासिन्दाले सास्ती भोग्दै आएका छन्। क्षेत्रीय व्यापार र यातायातका लागि महत्वपूर्ण मानिने यो मार्ग नबन्दा आर्थिक र सामाजिक गतिविधिमा समेत प्रत्यक्ष असर परेको छ। स्थानीय जनप्रतिनिधि र सरोकारवाला निकायमा पटक–पटक दबाब दिए पनि काम सुरु नभएपछि स्थानीयबासी आक्रोशित बनेका छन् र उनीहरूले अविलम्ब निर्माण प्रक्रिया अघि बढाउन माग गरेका छन्।

प्रकाशित मिति: २०२६-०५-०१ , समय : १३:१०:५० , २ घन्टा अगाडि