एमालेकी जेन्जी अमिसा पराजुलीले गरिन डिजिटल हिंसाविरुद्ध साइबर ब्यूरोमा उजुरी दर्ता

निरोज ढकाल , १३  पटक हेरिएको

डिजिटल हिंसाको शिकार बनेकी अमिसा पराजुलीले साइबर ब्यूरोमा औपचारिक उजुरी दर्ता गराएकी छन्। साइबर ब्यूरोका प्रवक्ता दिलिप गिरीका अनुसार उनले बुधबार उजुरी दिएको पुष्टि भएको छ।

 

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउविरुद्ध आयोजित प्रदर्शनमा दिएको अभिव्यक्तिपछि अमिसामाथि सामाजिक सञ्जालमा गालीगलौच र धम्की आउने क्रम बढेको थियो। उनका अनुसार विभिन्न व्यक्तिहरूले अश्लील र अपमानजनक टिप्पणी मात्र नभई गम्भीर प्रकारका धम्कीपूर्ण सन्देशसमेत पठाएका थिए।

 

अमिसाले आफूविरुद्ध आएका त्यस्ता टिप्पणी र मेसेजहरू प्रमाणका रूपमा संकलन गरेर साइबर ब्यूरोमा बुझाएकी छन्। उनले धम्की दिने तथा अनलाइन दुर्व्यवहारमा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाही गर्न माग गरेकी छन्।

 

साइबर ब्यूरोले उजुरी प्राप्त भएको पुष्टि गर्दै घटनाको अनुसन्धान अघि बढाइएको जनाएको छ। पछिल्लो समय सामाजिक सञ्जालमा बढ्दो डिजिटल हिंसाका घटनाप्रति चिन्ता व्यक्त हुँदै आएको अवस्थामा यस घटनाले फेरि ध्यानाकर्षण गराएको छ।

प्रकाशित मिति: २०२६-०४-०१ , समय : १६:२२:४२ , ३ घन्टा अगाडि