इनेपालपत्र , १४ पटक हेरिएको
लेटाङ १८ चैत। आचरण तथा व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले इलाका प्रहरी कार्यालय, लेटाङमा स्थापना गरिएको हिरासत पुस्तकालय (Custody Library) का लागि लेटाङ नगरपालिकाका पूर्व मेयर शंकर राई बाट विभिन्न विधाका पुस्तकहरू सहयोग प्राप्त भएको छ । उक्त सहयोगले हिरासतमा रहेका व्यक्तिहरूको सोच र व्यवहारमा सुधार ल्याउने विश्वास गरिएको छ ।
“किताबले सोच बदल्छ, सोचले व्यवहार बदल्छ” भन्ने अवधारणाका साथ सञ्चालन गरिएको पुस्तकालयमार्फत थुनुवाहरूको सोच र जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य राखिएको प्रहरीले जनाएको छ । यस अभियानले सुधारमुखी दृष्टिकोणलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ ।
इलाका प्रहरी कार्यालय लेटाङका प्रमुख प्रहरी निरीक्षक सागर साह ले यस अभियानलाई थप प्रभावकारी बनाउन सबैलाई पुस्तक सहयोगमार्फत सहभागी हुन आग्रह गर्नुभएको छ । “तपाईंको साथ–सुधारको आश” भन्ने सन्देशसहित उहाँले सर्वसाधारण तथा सरोकारवालाहरूको सहकार्य आवश्यक रहेको बताउनुभयो ।
प्रकाशित मिति: २०२६-०४-०१ , समय : ०९:३२:३७ , ३ घन्टा अगाडि