बालेन शाह आज प्रधानमन्त्री बन्दै, दिउँसो १२:३४ मा शपथ

प्रशान्त निराैला , ३४  पटक हेरिएको

काठमाडौं, १३ चैत । मुलुकले आज नयाँ प्रधानमन्त्री पाउँदैछ। ३६ वर्षीय बालेन्द्र शाह (बालेन) लाई राष्ट्रपति रामचन्द्र पौडेल ले शीतल निवासमा आयोजित समारोहबीच प्रधानमन्त्री पदको शपथ गराउने कार्यक्रम तय भएको छ। शपथ ग्रहण दिउँसो १२:३४ बजे हुनेछ भने शाहले दिउँसो सवा २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदबहाली गर्ने तालिका छ।

राष्ट्रपति कार्यालयका अनुसार समारोहलाई विशेष धार्मिक तथा सांस्कृतिक विधिसहित सम्पन्न गरिनेछ। कार्यक्रममा ७ वटा शंखबाट शंखनाद, १०८ जना बटुकद्वारा स्वस्ती–शान्ति वाचन तथा १६ जना बौद्ध भिक्षुद्वारा अष्टमंगल पाठ गर्ने तयारी गरिएको छ। प्रधानमन्त्रीको शपथसँगै मन्त्रीहरूको पनि शपथ गराइने जनाइएको छ। विभिन्न राजनीतिक दल, कूटनीतिक नियोग, नागरिक समाज र उच्च सरकारी अधिकारीलाई समारोहमा निमन्त्रणा गरिएको छ।

संविधानको धारा ७६(१) अनुसार रास्वपाको एकल सरकार गठन हुन लागेको हो। गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उक्त दलले १८२ सिट जितेको थियो। बिहीबार मात्रै शाह संसदीय दलको नेता चयन भएका थिए भने सोही दिन प्रतिनिधिसभाका ज्येष्ठ सदस्यले नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए।

प्रकाशित मिति: २०२६-०३-२७ , समय : ०७:०१:१७ , ४ घन्टा अगाडि