बर्सेनि बगाएर ज्यान लिने चिसाङ खोलामा सरकार मौन, स्थानीय एकजुट हुँदै झोलुङ्गे पुल निर्माण अभियान

निरोज ढकाल , १३  पटक हेरिएको

 

लेटाङ, ८ चैत । वर्षेनि बाढीका कारण स्थानीयलाई बगाएर ज्यान लिने गरेको चिसाङ खोलामा सरकारको ध्यान नपरेको भन्दै स्थानीय एकजुट भएका छन्। लेटाङ–१ बगुवा र लेटाङ–६ पार्टी खेत जोड्ने स्थानमा झोलुङ्गे पुल निर्माणका लागि श्रम सस्कृती पार्टी लेटाङले अभियान सुरु गर्दै कुल बहादुर वाजी लिम्बूको अध्यक्षतामा ९ सदस्यीय विशेष उपभोक्ता समिति गठन गरेको छ। स्थानीयका अनुसार, जोखिमपूर्ण खोला तर्न बाध्य हुँदा वर्षौंदेखि मानवीय क्षति हुँदै आए पनि सम्बन्धित निकायबाट ठोस पहल नहुँदा उनीहरू आफैं अघि सर्नुपरेको हो।

 

बर्खायाममा चिसाङ खोलामा आउने भीषण बाढीले आवतजावत पूर्ण रूपमा अवरुद्ध हुने गरेको छ। बिरामीलाई अस्पताल पुर्‍याउन, विद्यार्थीलाई विद्यालय जान तथा अत्यावश्यक कामका लागि नगरपालिका पुग्न समेत स्थानीयले ज्यानको बाजी राख्नुपर्ने अवस्था रहेको उनीहरूको गुनासो छ। यस वर्ष मात्रै खोलाले दुई जनाको ज्यान लिएपछि समस्या थप गम्भीर बनेको भन्दै पुल निर्माणलाई तत्काल आवश्यक पूर्वाधारका रूपमा हेरिएको छ।

 

समितिका अध्यक्ष लिम्बूका अनुसार २०७४ सालमै सहरी विकास मन्त्रालयमार्फत पुल निर्माणका लागि डीपीआर तयार भए पनि हालसम्म कार्यान्वयन नभएकाले नयाँ शिराबाट अभियान थालिएको हो। समितिले सहरी विकास परियोजना इटहरीमा निवेदन दिने, बजेट सुनिश्चितताका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने तथा आवश्यक परे श्रमदानबाटै पुल निर्माण अघि बढाउने निर्णय गरेको जनाएको छ। झोलुङ्गे पुल निर्माण सम्पन्न भएमा दुई वडाबीचको आवतजावत सुरक्षित हुने मात्र नभई स्थानीयको दैनिक जीवन, स्वास्थ्य सेवा पहुँच र प्रशासनिक कामकाजमा ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०२६-०३-२२ , समय : २०:४१:५७ , ३ घन्टा अगाडि