डिलमा ल्यान्ड हुन लागेको हेलिकोप्टरलाई उठाएर बारीको बीचमा लैजान खोज्दा दुर्घटना

निरोज ढकाल , २३  पटक हेरिएको

खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसी क्षेत्रमा हेलिकोप्टर दुर्घटनामा परेको छ। काठमाडौंबाट ६ जना यात्रु बोकेर गएको उक्त हेलिकोप्टर अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको हो।

 

प्रमुख जिल्ला अधिकारी रेखा कँडेलका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन। सबै यात्रु सुरक्षित रहेको प्रारम्भिक जानकारी प्राप्त भएको उनले बताइन्।

 

यसअघि हेलिकोप्टरले शव बोकेको भन्ने सूचना आए पनि वडाध्यक्ष मिलनकुमार राईले हेलिकोप्टरमा शव नरहेको स्पष्ट पारेका छन्।

 

गाउँपालिका अध्यक्ष समिर राईका अनुसार हेलिकोप्टर बारीको डिलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हो। डिलमा ल्यान्ड गर्ने प्रयासपछि हेलिकोप्टरलाई बारीको बीचतिर सार्न खोज्दा सन्तुलन गुमेर दुर्घटना भएको उनले जानकारी दिए।

 

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ भने सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: २०२६-०३-१८ , समय : १४:१४:५४ , २ दिन अगाडि