बालेन्द्रभन्दा दोब्बर खर्च: महावीर पुनको चुनावी खर्च 28 लाख पार, होटल खर्चमै 13 लाख

निरोज ढकाल , ७  पटक हेरिएको

म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित महावीर पुनले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन्। उनले निर्वाचन आयोगमा बुझाएको विवरणअनुसार चुनावी अभियानका क्रममा कुल २८ लाख ६८ हजार ८ सय ६८ रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्।

 

पुनले सार्वजनिक गरेको खर्च विवरणमा सबैभन्दा धेरै रकम होटलमा खाना र बासका लागि खर्च भएको देखिएको छ। यस शीर्षकमा मात्रै उनले १३ लाख ७ हजार रुपैयाँभन्दा बढी खर्च गरेका छन्। त्यस्तै, यातायात र सवारी मर्मतमा ६ लाख ६० हजार रुपैयाँ खर्च भएको छ भने डिजेलमा ३ लाख ६० हजार रुपैयाँ खर्च गरिएको उल्लेख छ।

 

त्यसैगरी, चालकको ज्यालामा १ लाख ४० हजार रुपैयाँ खर्च भएको छ। प्रचारप्रसार सामग्रीका लागि २ लाख ९० हजार रुपैयाँ खर्च गरिएको पुनले विवरणमा उल्लेख गरेका छन्।

 

यस बाहेक मनोनयन दर्ता गर्दा १० हजार रुपैयाँ, मतदाता नामावली खरिदमा ३ हजार रुपैयाँ, स्टेशनरीमा २५ हजार ३ सय रुपैयाँ र विविध शीर्षकमा ७० हजार ८ सय ७७ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ।

 

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको तुलनामा भने पुनको चुनावी खर्च दोब्बरभन्दा बढी देखिएको छ। शाहले निर्वाचन आयोगमा बुझाएको विवरणअनुसार उनको कुल चुनावी खर्च १४ लाख १७ हजार २ सय ८९ रुपैयाँ रहेको छ।

 

शाहले आफ्नो चुनावी अभियानमा सबैभन्दा धेरै खर्च १५ दिनसम्म सञ्चालन गरिएको वडास्तरीय घरदैलो कार्यक्रममा गरेका छन्। उक्त कार्यक्रमका लागि मात्रै उनले ५ लाख ८० हजार रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्। शाहको सबैभन्दा कम खर्च भने उम्मेदवारी दर्तामा भएको देखिन्छ, जहाँ उनले १० हजार रुपैयाँ खर्च गरेका छन्।

प्रकाशित मिति: २०२६-०३-१४ , समय : १७:२६:३६ , ३ घन्टा अगाडि