चुनावी खर्चमा मदिराको हिसाब राखेपछि स्वतन्त्र उम्मेदवार दिपक रावल भाइरल

निरोज ढकाल , ८  पटक हेरिएको

१६ मत पाए, तर मदिरा खर्च देखाएपछि उम्मेदवार दिपक रावल भाइरल

 

निर्वाचन खर्च विवरणमा ‘थकान मेटान’ शीर्षकमा मदिरा खर्च भएको उल्लेख गरेपछि कैलाली क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका दिपक रावल सामाजिक सञ्जालमा भाइरल बनेका छन्।

 

२१ फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा रावलले जम्मा १६ मत प्राप्त गरेका थिए। उनले २७ फागुन मिति राखेर जिल्ला निर्वाचन कार्यालय कैलालीलाई सम्बोधन गर्दै बुझाएको खर्च विवरण हाल सामाजिक सञ्जालमा व्यापक रूपमा शेयर भइरहेको छ।

 

रावलले मनोनयन दर्तासहित विभिन्न सात शीर्षकमा गरेर कुल २ लाख ३६ हजार ५०० रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्। खर्च विवरणको सातौँ बुँदामा ‘स्वयंसेवक साँझपख थकान मेटान’ शीर्षक राख्दै ‘8848’, भोड्का तथा लोकल मदिरा खुवाएको उल्लेख गरिएको छ। उक्त विवरणअनुसार १५ दिनसम्म स्वयंसेवकलाई मदिरा खुवाउँदा कुल ४५ हजार ५०० रुपैयाँ खर्च भएको देखिन्छ।

 

उक्त खर्च विवरण रावलले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेका थिए। एक लाख २० हजारभन्दा बढी फलोअर रहेको आफ्नो फेसबुक पेजमा ११ मार्च राति ७:५० बजे उनले खर्च विवरण पोस्ट गर्दै “चुनावी खर्चको विवरण पेस गरेको छु, कस्तो लाग्यो हजुरलाई कमेन्ट गर्नुहोला” भनेर लेखेका थिए।

 

खर्च विवरण सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन्। केही प्रयोगकर्ताले रावलको पारदर्शिताको प्रशंसा गरेका छन् भने कतिपयले उक्त विवरणलाई हास्यास्पद शैलीमा टिप्पणी गरेका छन्।

प्रकाशित मिति: २०२६-०३-१४ , समय : १७:१५:४२ , ३ घन्टा अगाडि