सुर्खेतकी 16 वर्षीया इनिशाको बलात्कारपछि हत्या : न्यायको माग गर्दै विरोध प्रदर्शन

निरोज ढकाल , १०  पटक हेरिएको

सुर्खेतकी १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाविरुद्ध देशभर आक्रोश बढ्दै गएको छ। उक्त घटनाको विरोधमा बुधबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।

 

देशभर महिलामाथि बढ्दो हिंसा, बलात्कार र हत्या घटनाको विरोध गर्दै युवाहरू तथा दलित अधिकारकर्मीहरूले माइतीघरमा प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीहरूले पीडितलाई न्याय दिलाउन र दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्।

 

प्रदर्शनमा सहभागीहरूले ‘सरकार बदलियो, समाज बदलिएन’, ‘महिला हिंसा अन्त्य गर’, ‘इनिशा विकलाई न्याय दे’ लगायतका नारासहित ब्यानर बोकेका थिए। उनीहरूले दलित समुदायमाथि भइरहेका हिंसात्मक घटनाको अन्त्य गर्न सरकारसँग माग गरेका छन्।

 

पीडितलाई न्याय दिलाउने आवाज उठाउन तथा मृतक इनिशाको आत्माको शान्तिको कामना गर्दै दीप प्रज्वलन गर्न माइतीघरमा भेला भएको अधिकारकर्मीहरूले बताएका छन्। साथै उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने माग गरेका छन्।

 

इनिशा विकको न्यायको माग सामाजिक सञ्जालमा पनि चर्किन थालेको छ। विभिन्न व्यक्ति तथा समूहहरूले दोषीलाई कारबाही गर्न माग गर्दै अभियान चलाइरहेका छन्।

 

गत फागुन २३ गते घरबाट ट्युसन पढ्न गएकी गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भएकी तथा हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी इनिशा सामुदायिक वन क्षेत्रमा बेहोस अवस्थामा फेला परेकी थिइन्। शरीरभरि निलडाम र रगताम्य अवस्थामा फेला परेकी उनलाई अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

 

प्रहरीले उक्त घटनामा बलात्कारपछि हत्या गरेको आरोपमा चार जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति: २०२६-०३-११ , समय : १४:१८:२८ , ३ घन्टा अगाडि