प्रशान्त निराैला , ४८ पटक हेरिएको
काठमाडौँ, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा उम्मेदवारी दिएका देशभरका सबै उम्मेदवारलाई आफ्नो निर्वाचन खर्चको विवरण सार्वजनिक गरी बुझाउन निर्वाचन आयोगले आग्रह गरेको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को अनुसूची–४१ मा तोकिएको ढाँचाअनुसार निर्वाचन खर्चको विवरण तयार गरी उम्मेदवार स्वयं वा प्रतिनिधिमार्फत तोकिएको समयसीमाभित्र पेस गर्नुपर्ने आयोगले जनाएको छ।
निर्वाचन आयोगका अनुसार उम्मेदवारहरूले आफ्नो खर्च विवरण निर्वाचन आयोग, कान्तिपथ काठमाडौँ वा सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा बुझाउन सक्नेछन्।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन आचारसंहिता, २०८२ अनुसार प्रत्येक उम्मेदवारले आफ्नो निर्वाचन खर्चको विवरण सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था रहेको आयोगले स्पष्ट पारेको छ।
निर्वाचन आयोगले तोकिएको समयभित्र खर्च विवरण नबुझाए कानुनअनुसार कारबाही हुन सक्ने समेत जनाएको छ।
प्रकाशित मिति: २०२६-०३-११ , समय : १३:३५:३६ , ३ घन्टा अगाडि