निरोज ढकाल , १६ पटक हेरिएको
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भएको चुनावी खर्चको विवरण निर्वाचन आयोगमा बुझाएका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार उम्मेदवारहरूले निर्वाचनपछि आफ्नो चुनावी खर्चको विवरण बुझाउनुपर्ने व्यवस्था छ। सोही व्यवस्था अनुसार बालेनले सोमबार झापास्थित निर्वाचन कार्यालयमा आफ्नो खर्च विवरण पेश गरेका हुन्।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर–५ बाट उम्मेदवार बनेका बालेन अत्यधिक मतान्तरसहित विजयी भएका थिए। उनले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गर्दै ऐतिहासिक जीत हासिल गरेका थिए।
निर्वाचन कार्यालयमा बुझाएको विवरण अनुसार बालेनले चुनावी अभियानका विभिन्न शीर्षकमा गरी कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च गरेका छन्।
उनले सबैभन्दा बढी खर्च वडास्तरीय प्रचार कार्यक्रममा गरेका छन्। उक्त शीर्षकमा मात्रै ५ लाख ८० हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ।
त्यसैगरी चुनावी अभियानका क्रममा प्रयोग गरिएको दुई वटा सवारी साधनमा २ लाख ९३ हजार ८०० रुपैयाँ खर्च भएको विवरणमा जनाइएको छ। बाँकी रकम प्रचार सामग्री, कार्यक्रम व्यवस्थापन तथा अन्य प्रशासनिक खर्चमा प्रयोग गरिएको उल्लेख गरिएको छ।
निर्वाचन आयोगले उम्मेदवारहरूलाई निर्धारित समयभित्र चुनावी खर्चको विवरण बुझाउन निर्देशन दिएको छ। बालेनले पनि सोही अनुसार आफ्नो खर्चको विवरण पेश गरेका हुन्।
प्रकाशित मिति: २०२६-०३-०९ , समय : १४:५१:२० , ४ घन्टा अगाडि