एमाले भोलेन्टेयर फोर्सद्वारा पत्रकारमाथि आक्रमण, अर्जुन आचार्य घाइते भएपछि प्रेस सेन्टरको आपत्ति

निरोज ढकाल , १२  पटक हेरिएको

प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य तथा विराटनगरबाट प्रकाशित हुने हाम्रो मत दैनिकका कार्यकारी सम्पादक अर्जुन आचार्यमाथि भएको भौतिक आक्रमणप्रति प्रेस सेन्टर नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नेकपा (एमाले) निकट भोलेन्टेयर फोर्सका सदस्यहरूले आचार्यमाथि कुटपिट गर्नुका साथै मोबाइल लुटपाट गरेको आरोप लगाइएको छ।

 

प्रेस सेन्टर नेपालद्वारा जारी विज्ञप्तिअनुसार, रातोपाटी अनलाइन टिमबाट झापाको कमल गाउँपालिकास्थित जीवन चोकमा रिपोर्टिङ गरिरहनुभएका पत्रकार आचार्यमाथि बिहीबार दिउँसो आक्रमण भएको हो। आक्रमणका क्रममा आचार्यको आँखा, गाला तथा ढाडमा चोट लागेको जनाइएको छ। साथै, उनको मोबाइल सेट खोसिएको र चस्मा फुटाइएको उल्लेख गरिएको छ।

 

विज्ञप्तिमा एमालेका कार्यकर्ताहरूले ज्यान लिने धम्कीसमेत दिएको दाबी गरिएको छ। धम्कीपछि अन्य पत्रकारहरूको सहयोगमा आचार्य सुरक्षित स्थानमा पुगेका छन्। हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको र उपचारको प्रक्रिया अघि बढाइएको बताइएको छ।

 

प्रेस सेन्टर नेपालले घटनाको घोर निन्दा गर्दै आक्रमणमा संलग्न भनिएका एमाले भोलेन्टेयर सदस्यहरूलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेको छ। साथै, घाइते पत्रकारको उचित उपचारको व्यवस्था गर्न र पत्रकारहरूको भौतिक सुरक्षाको प्रत्याभूति गर्न स्थानीय प्रशासन तथा सरकारसँग आग्रह गरेको छ।

 

संविधानप्रदत्त प्रेस स्वतन्त्रताको सम्मान गर्न र पत्रकारहरूलाई निर्वाध रूपमा समाचार संकलन, प्रकाशन तथा प्रसारण गर्न पाउने वातावरण सुनिश्चित गर्न सबै पक्षलाई सचेत र जिम्मेवार बन्न प्रेस सेन्टरले अपिल गरेको छ।

 

१४ फागुन २०८२ मा महासचिव मनोज घर्तीमगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा पत्रकारमाथिको कुनै पनि प्रकारको हिंसा लोकतान्त्रिक मूल्य र अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भएको उल्लेख गरिएको छ।

प्रकाशित मिति: २०२६-०२-२६ , समय : २१:४०:१० , ८ घन्टा अगाडि