निरोज ढकाल , ६ पटक हेरिएको
नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन तथा जनसभा आयोजना गर्ने भएको छ। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रमा राख्दै एमाले बागमती प्रदेश कमिटीको आयोजनामा राजधानीमा शक्ति प्रदर्शन गर्न लागिएको हो।
प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुंगेलका अनुसार जनप्रदर्शन दिउँसो भृकुटीमण्डपबाट सुरु भएर प्रज्ञाभवन, कमलादीमा पुगेर जनसभामा परिणत हुनेछ। मध्यान्ह १२ बजेदेखि सुरु हुने उक्त कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
आगामी निर्वाचनका लागि विशेष चुनावी अभियानको औपचारिक थालनी गर्ने उद्देश्यले यो जनप्रदर्शन आयोजना गरिएको बागमती प्रदेश कमिटीले जनाएको छ। यसमार्फत पार्टीको संगठनात्मक शक्ति प्रदर्शन गर्नुका साथै चुनावी तयारीलाई थप प्रभावकारी बनाउने एमालेको योजना रहेको छ।
एमालेले अधिकांश निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार टुंग्याइसकेको छ भने केही क्षेत्रमा मात्र निर्णय बाँकी रहेको बताइएको छ। आजको जनप्रदर्शन र जनसभा निर्वाचन लक्षित अभियानको महत्वपूर्ण हिस्सा हुने पार्टी नेताहरूको भनाइ छ।
प्रकाशित मिति: २०२६-०१-१८ , समय : १०:१७:३५ , ४ घन्टा अगाडि