निरोज ढकाल , ४७ पटक हेरिएको
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले २०७२ सालको भूकम्पपछि सिभिल इन्जिनियरका रूपमा देशका विभिन्न भागमा काम गर्दा राष्ट्र निर्माणबारे आफ्नो दृष्टिकोण स्पष्ट हुँदै गएको बताएका छन्। भूकम्प सुरक्षा दिवसको अवसरमा सार्वजनिक धारणा राख्दै उनले नेपालजस्तो भूकम्पीय जोखिम भएको देश केवल सिभिल इन्जिनियरिङका कामले मात्र नबन्ने स्पष्ट पारेका छन्।
बालेन शाहका अनुसार भूकम्पपछिको पुनर्निर्माणका क्रममा काभ्रे जिल्लामा मात्रै करिब २५ सय घर निर्माण गरिएको थियो। त्यसपछि गोरखा हुँदै देशका ३५ भन्दा बढी जिल्लामा सिभिल इन्जिनियरका रूपमा काम गर्ने अवसर पाए। ती अनुभवले नेपालको भौगोलिक बनावटसँगै सामाजिक विविधतालाई पनि सँगसँगै उठाएर विकास गर्नुपर्ने आवश्यकता सिकाएको उनले बताए।
उनले राष्ट्रको विकास भन्नाले भूगोल र जनता दुवैको विकास हुनुपर्ने उल्लेख गर्दै त्यसलाई जोड्न सक्ने सेतुको रूपमा बलियो आधार निर्माण आवश्यक रहेको बताए। सुरक्षित राष्ट्र निर्माणका लागि स्ट्रक्चरल इन्जिनियरिङ, दीर्घकालीन योजना, मौलिक र आधुनिक विकासबीचको सन्तुलन, जिम्मेवार नीति तथा इमानदार नेतृत्व अपरिहार्य भएको उनको भनाइ छ।
यही बुझाइका आधारमा आफू भारत गएर स्ट्रक्चरल इन्जिनियरिङ अध्ययन गरेको उल्लेख गर्दै बालेन शाहले अध्ययनपछि सुविधा सम्पन्न देशमा बसेर काम गर्ने अवसर हुँदाहुँदै पनि देश फर्किने निर्णय गरेको बताए। नागरिकको विश्वासका कारण आज काठमाडौँ महानगरपालिकाको प्रमुखको जिम्मेवारी सम्हाल्न पाएको भन्दै उनले स्थानीय तहले आफ्नो अधिकार प्रयोग गरेर आम जनताको सुविधाका लागि काम गर्न सकिन्छ भन्ने कुरा महानगरले प्रमाणित गरेको दाबी गरे।
उनका अनुसार काठमाडौँ महानगरपालिकाले शब्दभन्दा कामलाई प्राथमिकता दिँदै आम नागरिकले प्रत्यक्ष अनुभूति गर्न सक्ने सेवा, पारदर्शी प्रणाली र संरचनागत सुधारको सुरुवात गरेको छ। अब महानगरमा सुरु भएका यी सुधार र अभ्यासलाई राष्ट्रिय स्तरमा विस्तार गर्ने समय आएको उनले बताए।
बालेन शाहले नेपालको विकास भन्नु सडक, भवन र ठूला संरचना मात्र नभई सुरक्षित संरचना, देशको आवश्यकता बुझ्ने नीति र आम जनताको आशा जीवित राख्ने वातावरण निर्माण गर्नु भएको उल्लेख गरे। संस्थागत विकास कागजमा मात्र सीमित नभई प्रत्येक नागरिकले अनुभूति गर्न पाउनुपर्नेमा उनले जोड दिए।
स्ट्रक्चरल इन्जिनियरका रूपमा आफूले बुझेको निष्कर्ष स्पष्ट रहेको भन्दै उनले अब देशलाई अल्पकालीन निर्णय होइन, दीर्घकालीन दृष्टिकोण आवश्यक रहेको बताए। लोकप्रिय नाराभन्दा इमानदार नेतृत्व चाहिने उल्लेख गर्दै नेपाललाई सुरक्षित, दिगो र व्यवस्थित बनाउने उद्देश्यसहित आफू राजनीतिमा आएको स्पष्ट पारे।
उनले संकट आउनुअघि तयारी हुने नीति, विपद् सहन सक्ने संरचना र जनताको विश्वास जित्ने शासन प्रणाली निर्माण गर्नुपर्ने धारणा व्यक्त गरे। यो अभियान कुनै एक व्यक्तिको नभई सुरक्षित भविष्य चाहने सबै नेपालीको साझा अभियान भएको उल्लेख गर्दै उनले सबैको साथ, सहयोग र विश्वाससहित राष्ट्र निर्माणको यात्रामा अघि बढ्ने समय आएको बताएका छन्।
प्रकाशित मिति: २०२६-०१-१६ , समय : ०८:४३:५५ , ४ घन्टा अगाडि