अमेरिका भ्रमण विवादमा परे युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, गरे अमेरिका भ्रमण स्थगित

निरोज ढकाल , २२  पटक हेरिएको

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता पछिल्लो समय अमेरिका भ्रमणको विषयलाई लिएर विवादमा तानिएका छन्। मन्त्रालय सम्हालेको छोटो समयमै उनी गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकासँग जोडिएको निमन्त्रणाको आधारमा अमेरिका जाने तयारीमा थिए। तर, उक्त निमन्त्रणा आधिकारिक नभएको र फर्जी कागजात देखाएर मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृत गराएको आरोप लागेपछि मन्त्री गुप्तामाथि चौतर्फी आलोचना सुरु भयो।

 

एनआरएनए अमेरिकाभित्रकै दुई समूहले छुट्टाछुट्टै विज्ञप्ति निकाल्दै एक समूहले निम्ता दिएको दाबी गर्दा अर्को समूहले कुनै पनि कार्यक्रम वा निमन्त्रणासँग आफूहरूको सम्बन्ध नरहेको स्पष्ट पारेपछि विवाद झनै चर्कियो। यसबीच सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा गुप्ताको भ्रमणलाई लिएर प्रश्न उठेपछि अन्ततः उनले अमेरिका भ्रमण नगर्ने निर्णय गरेका छन्। शुक्रबार साँझ उनको सचिवालयले मन्त्री गुप्ता अमेरिका नजाने जानकारी दिएको हो।

 

यद्यपि भ्रमण स्थगित गरे पनि मन्त्री गुप्ताले तत्काल राजीनामा नदिने संकेत गरेका छन्। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष उम्मेदवार बन्ने तयारीमा रहेका गुप्ता राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्ने योजनामा छन्। उनी उम्मेदवारी दर्ता गर्ने समय नजिकिएपछि मात्रै पदबाट राजीनामा दिने तयारीमा रहेको उनको निकट स्रोतले जनाएको छ।

 

यसअघि रास्वपामा आबद्ध भएको विषयमा विवाद बढेपछि ऊर्जामन्त्री कुलमान घिसिङले राजीनामा दिइसकेका छन्। त्यसपछि खेलकुदमन्त्री गुप्ता र सञ्चारमन्त्री जगदीश खरेलमाथि पनि राजीनामाको दबाब बढेको छ। गृहमन्त्री ओमप्रकाश अर्याल र प्रधानमन्त्री सुशीला कार्कीले समेत निर्वाचन लड्ने मनस्थिति भएका मन्त्रीहरूले सरकारमा बस्न नमिल्ने सार्वजनिक रूपमा बताइसकेका छन्।

 

मन्त्री गुप्ता भने उम्मेदवारी दर्ता गर्ने समयसम्म पदमै रहने र त्यसपछि मात्रै राजीनामा दिने अडानमा देखिएका छन्। माघ ६ गते उम्मेदवारी दर्ताको समय तोकिएकाले उनले माघको पहिलो साता राजीनामा दिन सक्ने अनुमान गरिएको छ। उता उज्यालो नेपाल पार्टी र रास्वपाबीचको एकीकरण प्रक्रिया पूर्ण नहुँदा पनि गुप्ताको राजनीतिक भविष्य थप अन्योलमा परेको देखिन्छ।

प्रकाशित मिति: २०२६-०१-०९ , समय : २०:२८:४४ , १ दिन अगाडि