निरोज ढकाल , ८ पटक हेरिएको
लेटाङ रन तेस्रो संस्करण माघ १ गते, खुल्ला तर्फ महिलापुरुषलाई ३०/३० हजार पुरस्कार
लेटाङ, ४ पुस । । ‘स्वास्थ्यका लागि दौड’ भन्ने मूल नारासहित लेटाङ रनको तेस्रो संस्करण आगामी माघ १ गते आयोजना हुने भएको छ। लेटाङ नगरपालिका वडा नम्बर ३ कमलपुरस्थित लेटाङ रन नामक प्रतियाेगिता संचालन समितिकाे आयोजनामा हुन लागेको यो दौड प्रतियोगिता लागूऔषध दुर्व्यसनविरुद्धको जनचेतनामूलक अभियानका रूपमा अघि सारिएको आयोजकले जनाएको छ। कार्यक्रम लेटाङ नगरपालिका तथा वडा नं. ३ कार्यालयको समन्वयमा सञ्चालन हुनेछ।
यस वर्ष प्रतियोगिता कक्षा ८ मुनि, हाम्रो लेटाङ, खुल्ला र भेट्रान गरी चार विधामा सञ्चालन हुनेछ। खुल्ला र भेट्रान तर्फ सहभागी धावकहरूले १० किलोमिटर दूरी पूरा गर्नुपर्नेछ भने कक्षा ८ मुनि उमेर समूहका बालबालिकाले ३ किलोमिटर दौड गर्नुपर्नेछ।
खुल्ला तर्फ महिला तथा पुरुष दुवै समूहका प्रथम विजेताले रु. ३० /३० हजार, दोस्रो हुनेले रु. १५/१५ हजार र तेस्रो हुनेले रु. ८/८ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै अन्य सहभागी धावकलाई रु. १ हजार सान्त्वना पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ। ‘हाम्रो लेटाङ’ क्याटगोरी अन्तर्गत महिला तथा पुरुष प्रथम विजेताले रु. ७ हजार, दोस्रोले रु. ४ हजार, तेस्रोले रु. ३ हजार तथा अन्य सहभागीले रु. १ हजार प्रोत्साहन पुरस्कार प्राप्त गर्ने व्यवस्था गरिएको छ। भेट्रान क्याटगोरी (४० वर्ष माथि) अन्तर्गत महिला तथा पुरुष प्रथम हुनेले रु. १०/१० हजार, दोस्रोले रु. ५/५ हजार र तेस्रोले रु. ४/४ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। कक्षा ८ मुनि उमेर समूहका उत्कृष्ट धावकलाई क्रमशः रु. ५ हजार, रु. ४ हजार र रु. ३ हजार नगद पुरस्कार प्रदान गरिनेछ।
कक्षा ८ मुनि उमेर समूहका सहभागीका लागि रु. ३५० र अन्य सबै विधाका लागि रु. ४०० दर्ता शुल्क तोकिएको छ। कक्षा ८ मुनि सहभागीले फारम भर्दा सम्बन्धित विद्यालयको स्ट्याम्प र प्रधानाध्यापकको हस्ताक्षर अनिवार्य गरिएको छ भने प्रतियोगिताको दिन विद्यालयले जारी गरेको परिचयपत्र साथमा ल्याउनुपर्ने व्यवस्था गरिएको छ।
प्रतियोगितामा सहभागी प्रत्येक धावकलाई आयोजकले लेटाङ रनको टिसर्ट (भेस्ट), पानी र जुस उपलब्ध गराउनेछ। दौड प्रतियोगिता माघ १ गते बिहान ८ बजे लेटाङ बजारको बीपी चोकबाट सुरु हुनेछ। कार्यक्रममा मोटिभेसनल स्पिकर प्रमुस भुटियाको उपस्थिति रहने जानकारी पनि आयोजकले दिएको छ।
लेटाङ ३ कमलपुर निवासी तथा हाल युकेमा कार्यरत समाजसेवी तथा युवा समाजसेवी, बाैद्धिक ब्यक्तित्व सन्तोष राईको विशेष आर्थिक सहयोगमा आयोजना हुन लागेको यस प्रतियोगिताको तयारी तीव्र रूपमा भइरहेको लेटाङ रनका अध्यक्ष भिमबहादुर राई (किरण)ले जानकारी दिएका छन्। आयोजकले यस प्रतियोगिताले खेलाडीहरूको क्षमता विकास, स्वस्थ जीवनशैली प्रवर्द्धन, युवालाई खेलकुदतर्फ आकर्षित गर्ने तथा लागूऔषध दुर्व्यसनविरुद्ध सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त
गरेको छ।
प्रकाशित मिति: २०२५-१२-१९ , समय : १९:५३:०४ , ४ घन्टा अगाडि