निरोज ढकाल , १० पटक हेरिएको
लेटाङमा लागूऔषधसहित युवक नियन्त्रणमा
लेटाङ, ३ पुस । इलाका प्रहरी कार्यालय, लेटाङका प्रमुख सागर साहको सक्रियता, सूचनामैत्री कार्यशैली र दृढ नेतृत्वका कारण लागूऔषध नियन्त्रणमा अर्को महत्वपूर्ण सफलता हासिल भएको छ।
गएराती १२:१५ को समयमा मोरङ लेटाङ नगरपालिका वडा नं. ५ खेरुवा कुपटोल क्षेत्रमा लागूऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी निरीक्षक सागर साहको निर्देशनमा प्रहरी टोली परिचालन गरिएको थियो।
प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका लेटाङ–५ निवासी २४ वर्षीय धिरज न्यौपानेलाई निजकै घर अगाडिको बाटोमा रोकी चेकजाँच गर्दा उनले लगाएको ज्याकेटको दाहिने गोजीबाट ९ ग्राम खैरो हेरोइन जस्तो देखिने लिसाइलो पदार्थ फेला पारेको हो। त्यसपछि उनलाई तत्काल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय लेटाङमा ल्याइएको छ।
घटनाबारे जानकारी दिँदै कार्यालय प्रमुख सागर साहले लागूऔषध विरुद्ध शून्य सहनशीलताको नीति अनुसार नियमित गस्ती, सूचनाको प्रभावकारी उपयोग र समुदायसँगको सहकार्यलाई अझ मजबुत बनाइने बताए। हाल नियन्त्रणमा लिइएका व्यक्तिमाथि आवश्यक थप अनुसन्धान कार्य भइरहेको उनले जानकारी दिए।
स्थानीय स्तरमा लागूऔषध नियन्त्रणका लागि सागर साहको सक्रियता र परिणाममुखी कामको चौतर्फी प्रशंसा भइरहेको छ।
प्रकाशित मिति: २०२५-१२-१८ , समय : १३:१२:२८ , १३ घन्टा अगाडि