निरोज ढकाल , १६ पटक हेरिएको
शिक्षामन्त्री महावीर पुनले एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि तयार गरिएको भनिएको ‘ओली कुटी’ को थ्रिडी नक्साबारे सामाजिक सञ्जालमा व्यंग्यात्मक टिप्पणी गर्दै नक्सा निर्माण गर्ने इन्जिनियरमाथि ‘सख्त कारबाही’ गर्नुपर्ने बताएका छन्। फेसबुकमा आफ्नो शैलीमा स्टाटस लेख्दै उनले नक्सा अत्यधिक भव्य र आवश्यकताभन्दा धेरै ठूलो बनेको भन्दै आलोचना गरेका हुन्।
मन्त्री पुनले ‘ओली कुटी’ भनेर बनाइने भनिएको घरको थ्रिडी नक्सा समेत सार्वजनिक गर्दै लेखेका छन्, “यो नक्सा डिजाइन गर्ने इन्जिनियरलाई सख्त कारबाही गर्नु पर्छ। अनि घोर बेइज्जती तथा मानहानीको मुद्दा लगाउनु पर्छ भन्ने मेरो माग छ।”
उनले अझ व्यंग्य गर्दै भने, “हाकिमले २ जना बस्ने कुटीको नक्सा बनाएर ल्याऊ भनेपछि यत्रो ठूलो दरबारको नक्सा बनाइदिनुहुन्छ त उसले? कहाँसम्मको लापरवाही हो यो?”
स्टाटसको अन्त्यमा मन्त्री पुनले “एकछिन रमाइलो” भन्दै आफू गम्भीर नभएको संकेत पनि दिएका छन्। यद्यपि उनको व्यंग्यपूर्ण टिप्पणी सामाजिक सञ्जालमा व्यापक चर्चा र प्रतिक्रिया बटुलिरहेको छ।
प्रकाशित मिति: २०२५-१२-०७ , समय : १३:३७:४० , १७ घन्टा अगाडि