Niroj Dhakal , १० पटक हेरिएको
हेटौंडा डोजर विवाद : स्थानीय पीडितको पक्षमा उभिँदा पार्टी नेतृ राजीनामा दिन बाध्य
उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पार्टी पदबाट राजीनामा दिएको घोषणा गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत आफूले नैतिकताका कारण राजीनामा दिएको स्पष्ट गर्दै हेटौंडामा भएका पीडितहरूको पक्षमा उभिनुपरेको बताएकी छन्।
श्रेष्ठले लेखेकी छन्— “अरू अभियन्ता साथीहरू के गर्नुहुन्छ त्यो तपाईंहरूको निर्णय हो। तर मेरा लागि नैतिकता ठूलो कुरा हो। म हेटौंडा पीडितहरूको साथमा छु।”
हेटौंडामा आज बिहानदेखि सडक विस्तारका क्रममा सडकछेउका घर तथा संरचना माथि डोजर चलाइएपछि उनी घटनाप्रति असन्तुष्ट भएको बुझिएको छ। उनले भनेकी छन्— “मरेका मान्छेहरू बोल्दैनन्, म जिउँदै छु, त्यसैले बोलिरहेकी छु।”
उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ अहिले भौतिक पूर्वाधार, शहरी विकास तथा ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्। उनी प्रभावशाली मन्त्रालयमा रहेका बेला हेटौंडामा घर भत्काउने कार्य भएको र त्यसकै विरोधस्वरूप श्रेष्ठले राजीनामा दिएको बताइन्छ।
राजीनामा सार्वजनिक गरेपछि श्रेष्ठले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको फेसबुक पोस्ट शेयर गर्दै समर्थन पनि जनाएकी छन्। साम्पाङले हेटौंडामा सडक बिस्तारका नाममा घर भत्काउन गरिएको कारबाहीबारे प्रश्न उठाउँदै लेखेका थिए— “सडक बिस्तार गर्न घर भत्काउन आजै कर्फ्यु लगाइएछ। जनताले बुझ्दैछन्।”
उज्यालो नेपाल पार्टीले केही दिनअघि मात्र ५१ सदस्यीय केन्द्रीय समिति गठन गरेको घोषणा गरेको थियो। यसअघि पनि केन्द्रीय सदस्यको सूचीमा परेकी टासी ल्हाजोमले आफ्नो नाम हटाउने निर्णय गरिसकेकी थिइन्, जसले पार्टीभित्र असन्तुष्टि बढ्दै गएको संकेत दिएको छ।
हेटौंडामा भएको डोजर कारबाही र त्यसपछि उत्पन्न प्रतिक्रियाले उज्यालो नेपाल पार्टीभित्र नैतिकता, नेतृत्व र निर्णय–प्रक्रियामाथि प्रश्न उठाएको देखिन्छ।
प्रकाशित मिति: २०२५-१२-०७ , समय : ०९:०९:३८ , ८ घन्टा अगाडि