दिनदहाडै 2 घन्टामै सामुदायिक वनबाट 164 रुख गायब, स्थानीय चकित, छानबिन तिव्र

Niroj Dhakal , १२  पटक हेरिएको

कृष्णपुर नगरपालिका–७ अन्तर्गत पर्ने गौरीघाट सामुदायिक वनमा मङ्सिर ११ गते बिहानसम्म बाक्लो रूपमा देखिने रुखहरू साँझसम्ममा एकाएक गायब भएपछि स्थानीय समाजदेखि वन प्रशासनसम्मै आतंक छाएको छ। केही घण्टाको अन्तरमै करिब १६४ रुख काटिएको पुष्टि भएको छ, तर कसले र किन काट्यो भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन।

 

डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख सुरेशचन्द्र डिसीका अनुसार दिनदहाडै ठूला रुखहरू काटिए पनि घटनास्थलबाट ठोस प्रमाण प्राप्त हुन नसकेको र अनुसन्धान जारी रहेको छ। “१६४ रुख केही घण्टाभित्रै काटिएका छन्, तर कसले र किन काटे भन्नेबारे प्रमाण संकलन भइरहेछ,” डिसीले भने। वन कार्यालयले केही फोटो र सूचनाहरू प्रहरीले संकलन गरिरहेको जनाएको छ।

 

कटानी भएको क्षेत्र नजिकै कोरियाली संस्थाको सहयोगमा प्राविधिक शिक्षा कलेज निर्माणको तयारी भइरहेकोले त्यही बहानामा कुनै गिरोहले रुख कटान गराएको, वा भविष्यमै जग्गा कब्जा गर्ने उद्देश्यले रुख हटाइएका हुनसक्ने आशंका गरिएको छ। यो विषयमा विभिन्न कोणबाट छानबिन भइरहेको वन कार्यालयले जनाएको छ।

 

स्थानীয় जनप्रतिनिधिहरूले भने आफूहरूलाई कटानीबारे कुनै जानकारी नभएको दाबी गरेका छन्। वडा कार्यालयका प्रतिनिधि भन्छन्— “बिहानसम्म बन सुनसान थियो, दिउँसो ४:३० बजे मात्र प्रहरीबाट रुख काटिएको खबर आयो। जब पुग्यौँ, मानिस कोही थिएन, रुखहरू ढलेका थिए।”

 

गौरीघाट सामुदायिक वनमा १८ बिघा क्षेत्रफलमा वर्षौंदेखि स्थानीयले संरक्षण गर्दै आएका थिए। तर यो क्षेत्र पहिले देखिनै अतिक्रमण र काठ कटानीको जोखिममा परेको छ। खेलमैदान, देबथान, गोठालाघर, वडा कार्यालय र स्वास्थ्य चौकीसम्म सोही वनक्षेत्रभित्रै बनेका छन्। सामुदायिक वनकी अध्यक्ष कुमारी बोहराले पनि ११ गतेको कटानीबारे आफूलाई कुनै जानकारी नभएको बताइन्। “सुरुबाटै यहाँ संरक्षण कमजोर थियो, तारबार थिएन। तर यति ठूलो मात्रामा रुख कसरी काटियो, छानबिन हुनुपर्छ,” उनले भनिन्।

 

नगरप्रमुख हेमराज ओझाले पनि पहिलेदेखि नै सामुदायिक वनमा सुकेका रुख काटिँदै आएको बताउँदै, एकैदिन १६४ रुख काटिएको तथ्यबारे प्रश्न उठाएका छन्। “यति धेरै रुख एकैदिन काटिनु असामान्य हो। तर कटानी जसले गरे पनि छानबिन हुनु आवश्यक छ,” उनको भनाइ छ। तर केही स्रोतले मेयरकै सुझावमा कटानी भएको आरोप लगाएका छन्, जुन ओझाले कडाईका साथ अस्वीकार गरेका छन्। “मेरो कुनै संलग्नता छैन,” उनले भने।

 

यो घट्नाले स्थानीय समुदाय, जनप्रतिनिधि, वन प्रशासन र संघीय निकायहरूबीच ठूलो बहस सुरु गराएको छ। अहिले डिभिजन वन कार्यालय वाणीकाका प्रमुख भरत शाहलाई विस्तृत छानबिनका लागि खटाइएको छ। साथै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि यस प्रकरणमा चासो व्यक्त गरेको र वन कार्यालयका अधिकारीलाई जवाफका लागि बोलाएको पुष्टि भएको छ।

 

वन अधिकारीहरूले भने— “रुख काटिरहेका व्यक्तिहरू पत्ता लागेपछि कसले कटाउन लगायो भन्ने पनि प्रष्ट हुन्छ।”

यस घटनाले कञ्चनपुरमा सामुदायिक वन संरक्षण प्रणालीमाथि गम्भीर प्रश्न खडा गरेको छ।

प्रकाशित मिति: २०२५-१२-०६ , समय : १५:२५:०४ , ३ घन्टा अगाडि