जनअपेक्षा अनुसार काम गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री कार्कीको भनाइ

ईनेपालपत्र संबाददाता , ९  पटक हेरिएको

काठमाडौं, ३ असोज । प्रधानमन्त्री सुशिला कार्कीले गुणस्तरीय जीवनस्तर, पारदर्शिता, सुशासन र भ्रष्टाचारमुक्त शासन प्रणालीलाई राष्ट्रिय एजेण्डा मानेर सरकार जनअपेक्षा अनुसार काम गर्न प्रतिबद्ध रहेको बताएकी छन्।

संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले सूचना–प्रविधिको विकाससँगै युवा पुस्ताले अघि सारेका रोजगारी, पारदर्शिता, कानूनी समानता र विकासका मागलाई सबै पुस्ताको साझा अपेक्षा भन्दै त्यसलाई आत्मसाथ गर्दै अघि बढ्ने सरकारको योजना रहेको उल्लेख गरिन्।

उनले प्रधानमन्त्री बन्ने कुनै लोभ नभएको स्पष्ट पार्दै, देश संकटमा रहेको बेला युवा पुस्ताको अनुरोधअनुसार संविधानले तोकेको प्रावधानअनुसार संक्रमणकालीन व्यवस्थापनका लागि नेतृत्व सम्हालेको बताइन्। साथै, प्रतिनिधि सभा निर्वाचनमार्फत ६ महिनाभित्र जनप्रतिनिधि सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्य आफू नेतृत्व गरेको सरकारको रहेको उल्लेख गरिन्।

समयसँगै जनताको आवश्यकता र आकांक्षा बदलिने भएकाले राज्यले पनि निरन्तर सुधारको बाटो लिनुपर्ने उनको भनाइ थियो। उनले संविधानको मर्मअनुरुप न्यायपालिका, कानूनी राज्य र सुशासनमा खरो उत्रिन नसक्नु नै वर्तमान अवस्थाको कारण भएको जनाउँदै, संविधानभन्दा बढी जनभावना बहुआयामिक हुनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिइन्।

प्रकाशित मिति: २०२५-०९-१९ , समय : १२:२५:५८ , ४ घन्टा अगाडि