जेनजी आन्दोलनमा रौतहटमा २० करोड बढी क्षति

इनेपालपत्र , ८  पटक हेरिएको

राैतहट, ३ अशाेज । रौतहट जिल्लामा जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक प्रदर्शनले २० करोड रुपैयाँभन्दा बढीको भौतिक क्षति पुर्याएको प्रारम्भिक अनुमान गरिएको छ। गत २४ गतेको देशव्यापी आन्दोलनसँगै रौतहटमा समेत उग्र आन्दोलन भई सरकारी संरचना, स्थानीय तहका कार्यालय, प्रहरी युनिट तथा जनप्रतिनिधिका घरसमेत क्षतिग्रस्त भएका छन्।

जिल्ला प्रशासन कार्यालय गौरका अनुसार आन्दोलनकारीहरूले जिल्लाभर ६ वटा स्थानीय तहका कार्यालय र दर्जनौं सरकारी संरचना ध्वस्त पारेका छन्। चन्द्रपुर नगरपालिकामा करिब ३ करोड, मौलापुरमा ५ करोड, कटहरियामा १ करोड, फतुवा विजयपुरमा ३ करोड ५० लाख, गौर नगरपालिकामा ६४ लाख, डिभिजन वन कार्यालयमा २ करोड ५० लाख, प्रदेश लेखा कार्यालयमा २ करोड ६० लाख बराबरको क्षति भएको छ। यसबाहेक जिल्ला अदालत, मालपोत, करदाता, नापी र अनुसन्धान कार्यालयहरूमा पनि लाखौं बराबरको क्षति भएको बताइएको छ।

आन्दोलनकारीले जिल्ला प्रहरी कार्यालय गौरसहित ८ वटा प्रहरी युनिटमा आगजनी र तोडफोड गरेका छन्। चन्द्रनिगाहपुर इलाका प्रहरी कार्यालयमा करिब २ करोड १४ लाखको क्षति पुगेको छ भने गरुडा, शिवनगर, हर्षाहा, सुकदेवाचौक, बंकुल र चन्द्रपुर तल्लो बजार प्रहरी चौकीमा हजारौंदेखि लाखौंसम्मको क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालय गौरमा मात्र करिब ९० हजार बराबरको क्षति भएको छ।

यद्यपि, प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीका अनुसार सेवामा अवरोध नभई ध्वस्त कार्यालयहरूले अस्थायी रूपमा बाहिरैबाट सेवा सञ्चालन गरिरहेका छन्।

छानबिनका प्रारम्भिक विवरणअनुसार आन्दोलनमा केवल राजनीतिक असन्तोष मात्र नभई व्यक्तिगत रिसिबी मिलाउन र पद जोगाउन खोज्ने समूहहरूको प्रत्यक्ष संलग्नता देखिएको छ। फतुवा विजयपुरमा वडा अध्यक्ष र शिक्षक, कटहरियामा करार कर्मचारी, गरुडामा विपक्षी र व्यक्तिगत रिसिबी भएकाहरूको प्रत्यक्ष भूमिका रहेको छ। यस्ता गतिविधिहरूका भिडियो र तस्वीर सामाजिक सञ्जालमा व्यापक रूपमा पोस्ट भएका छन्।

आन्दोलनले स्थानीय प्रशासन, अभिलेख, भवन र सामग्री ध्वस्त पारिदिएपछि सेवाप्रवाहमा अवरोध भएको छ। यसले पुनर्निर्माण र राहतका लागि संघीय सरकारमाथि वित्तीय दबाब थपेको छ। प्रारम्भिक मूल्यांकनले मात्र २० करोड नाघेको देखिएको छ तर विस्तृत विवरण अझै संकलन भइरहेकाले क्षतिको रकम अझ बढ्ने देखिन्छ।

जेनजी आन्दोलनको आडमा भएका आगजनी र लुटपाटमाथि गहिरो छानबिन गरी दोषीलाई कारबाही गर्ने माग बढ्दै गएको छ। रौतहटका सिडियो बिनोद कुमार खड्काले आन्दोलनको नाउँमा भएको सरकारी सम्पतिको लुटपाट र आगजनीको छानबिन हुने र दोषीलाई कारबाहीको दायरामा ल्याइने जानकारी दिएका छन्।

प्रकाशित मिति: २०२५-०९-१९ , समय : १२:१४:१७ , ४ घन्टा अगाडि