प्रशान्त निराैला , ८४ पटक हेरिएको

लेटाङ, ३० साउन । कृष्ण जन्माष्टमी पर्व २०८२ को अवसरमा लेटाङमा ऐतिहासिक श्रीकृष्ण रथयात्रा यस वर्ष विशेष रूपमा भव्य र आकर्षक हुने भएको छ। नेवाः देय दबू, लेटाङ नगर समितिको आयोजनामा र समुदायको सक्रिय सहभागितामा हुने यो कार्यक्रम “श्रीकृष्ण भगवानको रथ तानौं, पुण्य कमाऔं” भन्ने मुख्य उद्देश्यसहित सम्पन्न हुनेछ।
यस वर्षको रथयात्रा भदौ १ गते आइतबार दिउँसो १ बजे श्री गोकुल नारायण राधाकृष्ण मन्दिर, लेटाङ नगरपालिका–४ बाट सुरु हुनेछ। रथ उद्घाटनपछि सामूहिक रूपमा बजार परिक्रमा गरिनेछ। आयोजकका अनुसार नयाँ रथ निर्माण कार्य अहिले धमाधम भइरहेको छ, जसले यसपटकको पर्वलाई अझ भव्य र आकर्षक बनाउने अपेक्षा गरिएको छ।
नेवार समुदायमा रथ धार्मिक साधन मात्र नभई सांस्कृतिक सम्पदा र सामूहिक एकताको प्रतीक मानिन्छ। यसले पुस्तौँदेखि चलिआएको परम्परालाई निरन्तरता दिने मात्र होइन, नयाँ पुस्तामा आफ्नो मौलिकता र गौरवको भावना जागृत गराउने काम पनि गर्छ।
स्थानीय बासिन्दा, विभिन्न टोल–बस्तीका युवादेखि वरिष्ठ नागरिकसम्म सबैले यस कार्यमा योगदान दिइरहेका छन्। नयाँ रथको आकर्षक संरचना, कलात्मक काठकला र रंगीन सजावटले यस वर्षको रथयात्रामा आउने भक्त र दर्शकलाई मोहित बनाउने निश्चित देखिन्छ।
सांस्कृतिक पर्यटन प्रवर्द्धनमा पनि यस्ता गतिविधिले महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकहरूको विश्वास छ। समुदायको सामूहिक सहयोग, आपसी एकता र सांस्कृतिक गर्वको उत्कृष्ट उदाहरणका रूपमा यस वर्षको रथयात्रा स्मरणीय हुने अनुमान गरिएको छ।
प्रकाशित मिति: २०२५-०८-१५ , समय : १४:४४:०८ , ११ घन्टा अगाडि