बेलबारी नगर अस्पताल असार मसान्तसम्म स्थानान्तरण हुने

निशा दाहाल , ७१  पटक हेरिएको

बेलबारी, ११ असार। बेलबारी नगरपालिकामा सञ्चालित नगर अस्पताल अब बेलबारी–१ बाट बेलबारी–४, बुधबारेमा सारिने भएको छ। असार महिनाको अन्त्यसम्ममा अस्पताल स्थानान्तरण प्रक्रिया सम्पन्न गर्ने लक्ष्यसहित तयारी तीव्र पारिएको नगरपालिकाले जनाएको छ।

नगर कार्यपालिकाको हालै सम्पन्न बैठकले अस्पताल स्थानान्तरण गर्ने औपचारिक निर्णय गरिसकेको छ। नयाँ भवन बेलबारी–४ मा अवस्थित रहेको छ, जुन एक वर्षअघि नै निर्माण सम्पन्न भए पनि अहिलेसम्म प्रयोगमा आएको थिएन। सुरुमा सो भवन प्रदेश प्रहरी अस्पतालका लागि निर्माण गरिएको थियो। तर, प्रदेश प्रहरी अस्पताल ईनरुवामा सारिएपछि उक्त भवन खाली रहेको थियो।

पछिल्लो समय प्रदेश प्रहरी अस्पताल पुन: फर्किने सम्भावना न्यून देखिएपछि नगरपालिकाले नगर अस्पताल सोही भवनमा सार्ने निर्णय लिएको हो। प्रयोगविहीन अवस्थामा थन्किएको सरकारी स्रोतको सदुपयोग गर्दै, अब भवनलाई नगरवासीको सेवा केन्द्रको रूपमा प्रयोग गरिनेछ।

नगर प्रमुखका अनुसार, “नयाँ स्थानमा अस्पताल सारिनु मात्र स्थानान्तरण होइन, यो सेवाको स्तरीकरण र पहुँच विस्तारतर्फको ठुलो कदम हो।”

बेलबारी–४ मा रहेको भवन आधुनिक ढाँचामा निर्माण गरिएको छ, जहाँ फराकिलो कोठा, प्रतीक्षालय, शुद्ध पिउने पानी, शौचालय, तथा पहुँचयोग्य सेवा सुविधा समेटिएको छ। नगरपालिकाले अब त्यहाँ आवश्यक उपकरण, औषधि भण्डारण, शय्या व्यवस्थापन र जनशक्ति स्थानान्तरणको तयारी अघि बढाइरहेको छ।

स्थानान्तरणपछि नगर अस्पतालले अझ प्रभावकारी ढंगले प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ। विशेषगरी बेलबारी–४, ५, ६ लगायतका वडाका बासिन्दाले अब नजिकैबाट सहज सेवा पाउने छन्।

स्थानीयवासीहरू परिवर्तनप्रति उत्साहित छन्। बेलबारी–४ का एक बासिन्दा बताउँछन्, “हामीले नजिकै अस्पताल पाउने भयौं, अब स–साना उपचारका लागि टाढा जानुपर्दैन, यो हामीलाई धेरै राहत हुने छ।”

नगरपालिका अनुसार, असार मसान्तभित्र सम्पूर्ण स्थानान्तरण प्रक्रिया पूरा गरी श्रावणदेखि नयाँ स्थानबाट सेवा सुरु गर्ने लक्ष्य रहेको छ।

प्रकाशित मिति: २०२५-०६-२५ , समय : १५:५६:३९ , १२ घन्टा अगाडि