प्रशान्त निराैला , २२ पटक हेरिएको

लेटाङ, १९ जेठ । गएराति आएको तीव्र हावाहुरीका कारण मोरङको लेटाङ क्षेत्रमा जनजीवन प्रभावित बनेको छ। हावाहुरीले ढालेका रुखहरूले लेटाङ–कानेपोखरी सडक पूर्ण रूपमा अवरुद्ध भएको छ भने जाँते पथरी जाने सडक अवरुद्ध भई खुलेको प्रहरीले जानकारी दिएको छ।
इलाका प्रहरी कार्यालय लेटाङका प्रमुख राकेश रेग्मीका अनुसार, सव बन डिभिजनका कर्मचारी र प्रहरीको सहयोगमा अवरुद्ध सडक खुलाउने प्रयास तीव्र रूपमा भइरहेको छ। जाँते–पथरी सडक खण्ड भने तत्काल खुलाइएको जानकारी उहाँले दिनुभयो।
हावाहुरीले किसान र साना उद्यमीहरूलाई समेत ठूलो क्षति पुर्याएको छ। वैदेशिक रोजगारीबाट फर्किएर नेपालमै उद्यम सुरु गरेका देवि प्रसाद सापकोटाको कुमारी पशुपंक्षी पालन उध्योग कृषि फार्ममा हावाहुरीले ठूलो क्षति पु¥याएको छ। उद्योगी सापकोटाका अनुसार च्याउ उद्योगको टिनको छाना उडाउँदा करिब २५ सय पोका च्याउ नष्ट भएका छन् भने अन्य संरचनात्मक क्षति समेत गरेर करिब २५ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ।
त्यस्तै, हावाहुरीले विजुलीका पोल ढाल्दा लेटाङमा विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। विद्युत कार्यालय लेटाङका प्रमुख गोपाल पराजुलीका अनुसार बेलचौरीमा ४ वटा, किराँत चौकमा १, कमलपुरमा ४ र खेरुवामा १ वटा हाईटेन्सन लाइनको पोल ढलेका छन्। उहाँले क्षतिको विस्तृत विवरण संकलन भइरहेको र अन्य स्थानमा पनि समस्या देखिएमा ९८४२१६४३३९ मा सम्पर्क गर्न अनुरोध गर्नुभएको छ।
हावाहुरीको प्रकोपबाट स्थानीय जनजीवन प्रभावित बनेको छ भने जनधनको क्षतिका विवरणहरू अझै संकलनको प्रक्रियामा छन्। स्थानीय सरकार, प्रहरी प्रशासन तथा सरोकारवाला निकायहरू राहत तथा पुनःस्थापना कार्यमा जुटेका छन्।
प्रकाशित मिति: २०२५-०६-०२ , समय : ०९:५७:५३ , ४ दिन अगाडि