लेटाङमा गाईको धार्मिक महत्व प्रवर्द्धन गर्न श्रीमद्भागवत पुराण

ईनेपालपत्र , २०२  पटक हेरिएको

लेटाङ, १२ मंसिर। गाईको धार्मिक र सांस्कृतिक महत्वलाई उजागर गर्दै मोरङको लेटाङ-९ जाँतेस्थित श्रीकृष्ण गौशला परिसरमा पौष १ गतेदेखि श्रीमद्भागवत पुराण सुरु हुने भएको छ।

पुराण आयोजक समितिले मंगलबार गणेश मन्दिर परिसरमा आयोजित कार्यक्रममार्फत यसबारे जानकारी गराएको हो। कार्यक्रममा विश्वप्रख्यात आचार्य महाराज नन्दकिशोर भारद्वाजको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा प्रदेश १ का पूर्व मन्त्री उपेन्द्र प्रसाद घिमिरे, आचार्य पण्डित घनश्याम खनाल, वडा अध्यक्ष नन्दप्रसाद खतिवडा, बौद्ध गुम्बा लेटाङका अध्यक्ष सन्त आले, किराँत याक्थुङका अध्यक्ष सन्तबहादुर लिम्बू तथा समाजका प्रतिष्ठित अगुवा र समाजसेवीहरूको उपस्थिति थियो।

कार्यक्रमका वक्ताहरूले गाईलाई सनातन धर्ममा माताको रूपमा सम्मान गरिने परम्परालाई बलियो बनाउन यस्ता धार्मिक गतिविधिहरू महत्वपूर्ण हुने बताए। गाईको संरक्षण र धार्मिक महत्वलाई युवापुस्तामा जागृत गराउन पुराणले योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रमको अध्यक्षता पुराण आयोजक समितिका अध्यक्ष सुजित बुढाथोकीले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन समितिका सहसचिव गिता पाठकले गर्नुभएको थियो।

पुराण आयोजक समितिले पुराणमा सबै समुदायको सक्रिय सहभागिता हुन आग्रह गर्दै धार्मिक आस्थालाई बलियो बनाउन आग्रह गरेको छ। यसका साथै, गाईको पालन, संरक्षण र यसको सांस्कृतिक महत्वलाई जीवन्त राख्न पुराणले प्रेरणादायी भूमिका खेल्ने अपेक्षा गरिएको छ।

यस ऐतिहासिक कार्यक्रममा सहभागिता जनाई धार्मिक लाभ उठाउन समितिले सबैलाई आग्रह गरेको छ।
हाल उक्त गौशलामा २६ वडा गाई पालिदै आएको छ ।

प्रकाशित मिति: २०२४-११-२७ , समय : १०:४०:१९ , १ वर्ष अगाडि