विश्व आदिवासी जनजाति दिवसको अवसरमा कोशी प्रदेशमा सार्वजनिक बिदा, SEE ग्रेड वृद्धि परीक्षा भने यथावत

ईनेपालपत्र संबाददाता , १५४  पटक हेरिएको

प्रशान्त निरौला

लेटाङ २४ साउन । कोशी प्रदेश सरकारले भोलि श्रावण २५ गते शुक्रबार (९ अगस्त, २०२४) का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

विश्व आदिवासी जनजाति दिवसको अवसरमा प्रदेशभरका सरकारी कार्यालय, सार्वजनिक संस्था, प्रतिष्ठान, र शैक्षिक संस्थाहरूमा सार्वजनिक बिदा हुने प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा जारी सूचनामा जनाइएको छ।

तर, प्रदेशभरि सार्वजनिक बिदा भए तापनि भोलि हुने एसईई ग्रेड वृद्धि परीक्षा भने यथावत् सञ्चालन हुने लेटाङ परीक्षा केन्द्रका केन्द्राध्यक्ष श्री प्रसाद ढकालले जानकारी दिनुभएको छ। भोलि गणित विषयको परीक्षा हुने भएकोले, लेटाङबाट ३२३ जना विद्यार्थीहरूले सो परीक्षामा सहभागी हुनेछन्।

प्रदेश सरकारको निर्णयअनुसार सार्वजनिक बिदा भए तापनि, एसईई ग्रेड वृद्धि परीक्षामा सहभागी विद्यार्थीहरू भने नियमित तालिका अनुसार परीक्षा केन्द्रमा उपस्थित हुनुपर्नेछ।

प्रकाशित मिति: २०२४-०८-०८ , समय : १९:३५:४१ , ११ महिना अगाडि