ईनेपालपत्र , ५६४ पटक हेरिएको

बिराटनगर , ७ साउन। नेपालकी दीपा बिष्टले पुनः एकपटक नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा गौरवान्वित गरेकी छिन्। काजखस्तानमा सम्पन्न ११ औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा उनले ८० केजी प्लस समूहमा स्वर्ण पदक जितेर नेपाललाई गर्वको अनुभूति गराएकी छन्।
दीपा बिष्टको यो सफलताको यात्रा सजिलो थिएन। उनले कठोर परिश्रम, अनुशासन, र आत्मविश्वासको सहारामा लगातार सफलता हात पारेकी छिन्। ९५ केजी तौल समूहमा प्रतिष्पर्धा गर्दै तेस्रो पटक आईबीपी च्याम्पियनसिपमा स्वर्ण पदक जित्न सफल बिष्टले स्वर्ण पदकसँगै प्रमाणपत्र र ट्रफी पनि प्राप्त गरिन्।
यो उनको लागि कुनै नौलो उपलब्धि होइन। गत वर्ष भारतको हैदराबादमा सम्पन्न १० औं संस्करणको च्याम्पियनसिपमा ९० केजी तौल उचालेर कीर्तिमान बनाएकी दीपा बिष्टले त्यसअघि किर्गिस्तानमा आयोजित नवौं संस्करणमा पहिलो पटक ७२ केजी तौल उचालेर नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन्।
दीपा बिष्टको प्रत्येक वर्ष आफ्नै कीर्तिमान तोड्ने अदम्य साहस र निरन्तर प्रयासले नेपाललाई स्वर्ण पदकको श्रृङ्खला दिलाइरहेको छ। काजखस्तानमा भएको च्याम्पियनसिपमा २० देशका खेलाडीहरूको सहभागिता रहेको अवस्थामा उनको यो सफलता अझै महत्त्वपूर्ण छ।
दीपा बिष्टको यो उपलब्धिले युवा पुस्तालाई प्रेरित मात्र गरेन, नेपाललाई अन्तर्राष्ट्रिय खेलकुदमा सशक्त रूपमा उभ्याएको छ। उनको कठोर परिश्रम, दृढ संकल्प, र उच्च प्रतिस्पर्धी भावना सम्पूर्ण नेपालीको लागि प्रेरणाको स्रोत बनेको छ। दीपा बिष्टजस्तै दृढ संकल्पित र मेहनती खेलाडीहरूका कारण नै नेपालले विश्वमञ्चमा आफ्नो पहिचान बलियो बनाउँदै गएको छ।
प्रकाशित मिति: २०२४-०७-२२ , समय : ०८:३९:११ , १२ महिना अगाडि