अपांग बालिका बलात्कार मुद्दा फिर्ता लिन दवाव दिएको पीडितको गुनासो

ईनेपालपत्र समाचारदाता , ५२०  पटक हेरिएको

इनरुवा ,३० चैत । । सुनसरीको इनरुवामा अपांग बालिका उपर करणीको आरोपमा पक्राउ परेका व्यक्ति छुटाउन पीडित पक्षलाई दवाव दिदै आएको विषय बाहिरिएको छ ।

इनरुवा ४ को उक्त घटनामा पीडक पक्षका आफन्तले पैसाको प्रलोभन दिएर मुद्दा फिर्ता लिन दवाव दिने गरेको पीडित पक्षको भनाइ छ । करणीको आरोपमा प्रहरीले संलग्न व्यक्तिलाई पक्राउ गरी कारबाही चलाइसकेको छ । प्रहरी प्रतिवेदनका आधारमा अदालतले प्रतिवादीलाई पुर्पक्षका लागि कारागार चलान समेत गरीसकेको छ ।

यद्यपि, पीडित परिवारले भने आफूहरुले धाकधम्की खेपिरहनु परेको भन्दै गुनासो गरेका छन् । उनीहरुले पीडक पक्षले आफूहरुलाई मुद्दा फिर्ता लिन धाकधम्की दिदै आएको बताए । पीडितको घरमा केही दिनअघि आगलागी भएको थियो । जसलाई सुनियोजित दावी गर्दै आएको पीडित परिवारले त्यसपछि भने असुरक्षित महशुस गरेको छ ।

मुद्दा फिर्ता लिन दिइँदै आएको धम्की र आर्थिक प्रलोभनको विषय पीडित परिवारले बाहिर ल्याएको हो । पीडितकी आमाले आफूलाई आएको धम्कीकाे बारेमा छिमेकीहरुले समेत साथ नदिएको आरोप लगाएकी छन् । घटनाको विषयमा सुनसरी प्रहरीले भने करणीको आरोपमा पक्राउ गरिएका व्यक्तिलाई जिल्ला अदालत बुझाइएको र त्यहाँबाट कारागार चलान भएको बताएको छ ।

प्रकाशित मिति: २०२३-०४-१३ , समय : ०८:२१:३८ , ३ वर्ष अगाडि