माेरङ ३ मा युवा नेता केशव दुलालकाे दाबी

ईनेपालपत्र , १६९४  पटक हेरिएको

बिराटनगर , २६ जेठ । सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको प्रस्तावित मिति तोकेसँगै मोरङमा कांग्रेस नेताहरूले आफ्ना गतिविधि बढाएका छन् ।
स्थानीय निर्वाचनमा सर्मनाक हार ब्योहोेरेको कांग्रेसमा संघ र प्रदेशमा उम्मेद्वारी घोषणा सुरु भएको छ । यसै क्रममा मोरङ –३ मा नेपाली कांग्रेसका युवा नेता केशवप्रसाद दुलालले उमेद्वारी घोषणा गर्नु भएको छ । पार्टी भित्र आन्तरिक शक्ति संघर्ष बढेको र नीति र निष्ठाको राजनीति मर्दै गएकोले आफूले पार्टी बचाउन उमेद्वारी घोषणा गरेको दूलालले बताउनु भयो । उहाँले आफ्नो फेसबुकमा लेख्नु भएको छ ।‘ सैद्धान्तिक रूपमा सम्पूर्ण शासकीय अभ्यास मध्ये संसदीय शासन प्रणाली कम खराब ब्यबस्था हो । उत्तम होइन,यसलाई उत्कृष्ट बनाउन लोकतान्त्रिक चरित्र सहितको अभ्यासबाट मात्र सम्भव हुन्छ । त्यसकारण हाम्रो अभ्यासलाई लोकतान्त्रिक र लोक मान्य बनाउन जति सक्यौं, त्यति ब्यबस्था चिर स्थायी साथै देश र जन हितकारी हुन्छ । त्यसैका लागि आगामी निर्वाचनमा बिचार, संस्कार,चरित्र निडर,निस्वार्थ,सपना र कार्य–कुशलता भएको उम्मेदवार खोजौं र रोजौं ।’
दूलालले सांकेतिक रुपमा यस अघिका उमेद्वार बिचार, संस्कार,चरित्र, निडर,निस्वार्थ,सपना र कार्य–कुशलता नभएको बताउनु भएको छ । नेपाल विद्यार्थी संघबाट राजनीतिमा प्रवेश गर्नु भएका ४९ वर्षीय दूलाल मोरङको पथरीशनिश्चरे १० का स्थायी बासिन्दा हुनुहुन्छ । नेविसङ्घको केन्द्रीय सदस्य , पार्टीको महाधिवेशन प्रतिनिधि लगायतका जिम्मेवारी सम्हालिसक्नु भएका दूलाल पार्टीले संघीय संसदको टिकट दिँदा धनवाद र डनबादलाई भन्दा पार्टीको आस्था ,बिचार र आदर्श बोकेका ब्यक्तिलाई दिनु पर्ने बताउनु हुन्छ ।

प्रकाशित मिति: २०२२-०६-०९ , समय : ०९:३९:१० , २ वर्ष अगाडि