गाैरादहमा फुटसलकाे उद्घाटन

Enepal Patra Pvt. Ltd. , ३३७  पटक हेरिएको

गौरादहमा फुटसलको उद्घाटन
गौरादह(झापा), २४ पुस । गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार साहले शनिबार गौरादह फुटसलको उद्घाटन गर्नु भएको छ । गौरादह–२ मा दुईजना युवा ब्यवसायीले सञ्चालनमा ल्याएको फुटसल एकसाता अघि सञ्चालनमा आएपनि शनिबार औपचारिक उद्घाटन भएको हो ।
फुटसलको उद्घाटन गर्दै नगर प्रमुख साहले सङ्गीत र मनोरञ्जन जस्तै खेलकुद पनि मानिसका लागि अनिवार्य आवश्यक भएको बताउनु भयो । उहाँले भन्नुभयो– फुटसल अन्य सहरका लागि पुरानो भए पनि गौरादहका लागि नयाँ र स्थानीय आवश्यकता थियो । सहरीकरणले गर्दा खेल अभ्यास गर्ने स्थानको अभाव हुँदै गएको बेला युवा ब्यवसायी अर्जुन खड्का र सन्तोष बिष्टले गौरादह नगरबासीले खोजेको फुटसल स्थापना गरेर नगरको विकासमा सहयोग गरेको नगर प्रमुख साहको भनाई थियो । खेलको माध्यमबाट शारिरिक अभ्यास हुनेमा जोड दिँदै साहले फुटसल खेलबाट स्थानीय ब्यापारी, ब्यावसायीहरूले लाभान्वित हुन सक्ने उल्लेख गर्नुभयो । एउटा नगरलाई समृद्ध बनाउन सबै क्षेत्रको विकास हुनु आवश्यक भएको बताउँदै उहाँले फुटसलको स्थापना समृद्ध नगरको पूर्वाधार भएको उल्लेख गर्नुभयो ।
अर्का वक्ता नेपाली कांग्रेस झापा ५ (१) का सभापति जीवन राईले गौरादहको खेलकुद बिकासमा फुटसल स्थापनाले नयाँ आयाम थपेको बताउनु भयो ।गौरादह फुटसलका सञ्चालक अर्जुन खड्काको सभापतित्वमा भएको उद्घाटन समारोहमा अर्का सञ्चालक सन्तोष बिष्टले स्वागत गर्नु भएको थियो । झण्डै ७० लाख रुपैयाँ लगानीमा निर्माण गरिएको फुटसलमा सहभागि हुन प्रतिब्यक्ति न्युनतम ६५ रुपैयाँ र अधिकतम १ सय रुपैयाँ लाग्ने सञ्चालक खड्काले जानकारी गराउनु भयो । खड्काका अनुसार बिहान र बेलुकाको समयमा भन्दा दिवा समयमा फुटसल खेल्न सस्तो पर्नेगर्छ । फाइभ साइड क्षमता को फुटसलमा सामान्यतया एउटा प्रतियोगिता १ घण्टा खेलिने गर्छ ।

प्रकाशित मिति: २०२२-०१-०८ , समय : २०:०४:३२ , २ वर्ष अगाडि