जङ्गल क्षेत्रका रुख नहटाउँदा मोरङको पथरी–जाँते–ज्यामिरे सडक निर्माणले गति लिन सकेन

Enepal Patra Pvt. Ltd. , ७०५  पटक हेरिएको

हरि कोइराला ,
लेटाङ, १२ पुस । मोरङको पथरी–जाँते– हुँदै लेटाङ ८ को ज्यामिरे जोड्ने सडकको बन क्षेत्रका रुखहरू काट्ने प्रक्रिया अघि नबढ्दा सडक कालोपत्रे गर्न समस्या भएको छ । १ नं.प्रदेश सरकारले आफ्नो गौरवको योजनाका रुपमा निर्माण प्रक्रिया अघि बढाएको यो सडक प्रदेश १ सरकारका तत्कालिन मुख्यमन्त्री शेरधन राईले २०७६ मङ्सिर २३ गते शिलान्यास गर्नु भएको थियो ।
शिलान्यास भएको दिन मूख्यमन्त्री राईले ३ वर्षमा सडक निर्माण गर्ने योजना भए पनि २ वर्षमा नै योजना सम्पन्न गरी उद्घाटन गर्ने बताउनु भएको थियो । उत्तरी मोरङको ज्यामिरेबाट जाँते हुँदै पथरीमा पूर्व पश्चिम राजमार्गसँग जोडेर डाइनियाँ हुँदै भारतसँग ब्यापार गर्ने महत्वकांक्षी योजना बोकेको सडक निर्माण सुरु भएको २४ महिना अर्थात दुई तिहाई समय ब्यथित भईसक्दा पनि २० प्रतिशत मात्र काम भएको विनिता श्री निर्माण कम्पनीका सञ्चालक भीमबहादुर पौडेल बताउनु हुन्छ ।पौडेलले भन्नुभयो– ५४ करोड ४८ लाख ४५ हजार १ सय २५ रुपियाँ ९६ पैसाको ठेक्का हो । प्रदेश सरकारले हाल सम्म ५ करोड रुपियाँ मात्र दिएको छ । सरकारले पैसा भुक्तानीके ग्यारेन्टी लियो भने अबको ६ महिनामा सडक कालोपत्रे गरेर जिम्मा लगाउँछु ।
प्रदेश सरकारले २०७६ सालमा प्रदेश १ भरी ६२ वटा सडकलाई बहुवर्र्षीय योजना अन्र्तगत गौरवको योजनाका रुपमा समावेस गरेको थियो । सोही आयोजना अन्तरगत पथरी–जाँते–ज्यामिरे सडक खण्ड पनि समावेश भएको थियो । २ वर्षको अबधिमा पथरी देखि जाँते चौकसम्मको ८ किमी जङ्गल क्षेत्रमा बेस र लगाउने काम सम्पन्न भएको छ । तर,सडक किनारका ठूला ठूला रुख काट्ने प्रक्रिया अघि नबढ्दा बेस लगाइसकेको सडकमा पुन खाल्डा खुल्डी पर्न थालेका छन् । जाँते चौक देखि साविकको गाविस कार्यालय सम्मको बजार क्षेत्रमा नाला निर्माणको काम भइरहेको छ । बजार क्षेत्रमा सडक फराकिलो बनाइएको छ । बजार क्षेत्रमा सम्पूर्ण पूर्वाधारका काम सकिएपनि कालोपत्रे हुन सकेको छैन् ।
यता सव डिभिजन बन कार्यालय मङ्गलबारेका प्रमुख तारिणीप्रसाद चौधरी सडक ठेक्का लागेको ३ महिनापछि नै सडक क्षेत्रका रुखको छपान गरेर बन मन्त्रालय पठाएको बताउनु हुन्छ । चौधरीले भन्नुभयो – हामीले बन कार्यालयले गर्ने सबै काम सम्पन्न गरेर प्रदेश नं. १ का सोही क्षेत्रका सांसदलाई फाइल जिम्मा लगाएका छौं । रुख काट्ने विषयमा बन कार्यालयको कुनै भूमिका नहेको चौधरीको भनाई छ ।
प्रदेश सांसद एवं सो सडकका उपभोक्ता समेत रहनु भएका उपेन्द्रप्रसाद घिमिरेले भन्नुभयो–बारम्बारको सरकार परिवर्तनले सडकका रुख काट्ने काम रोकिएको हो । उहाँले चालु बजेटमा प्रदेश सरकारले १५ करोड निकासा गरेकोले अब काम अघि बढ्ने बताउनुभयो ।रुख काट्ने स्वीकृति सङ्घीय सरकारको मन्त्रीपरिषदले मात्र दिने भएकोले कटान आदेश ल्याउन आफू लागिरहेको उहाँको भनाई छ ।
प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय मार्फत ०७९ असोज भित्र सम्पन्न गर्ने गरी १९ दशमलव ६ किलोमिटर लम्बाइ र २२ फिट चौडाईको ५० एमएमको अस्पल प्रविधिबाट कालोपत्रे गरिने उक्त सडक ७२ करोड ५० लाख रुपियाँमा टेण्डर आह्वान भएको थियो ।
श्रेष्ठ कन्ट्रक्सन कम्पनी काठमाडौंले २५ प्रतिशत कम बोलकबोल गरी भ्याटसहित ५४ करोड ४८ लाख ४५ हजार १ सय २५ रुपियाँ ९६ पैसामा ठेक्का पाएको थियो ।तर, श्रेष्ठ कन्ट्रक्सनले पनि सडक निर्माण गर्न विनिताश्री निर्माण कम्पनीलाई जिम्मा दिएको छ ।
सडक निर्माणका लागि सरकारले हाल सम्म बिनियोजन गरेको बजेटको २ किस्तामा गरेर आधा रकम पनि उपलब्ध गराउन सकेको छैन । २०७९ असोज भित्र निर्माण सक्ने लक्ष्य लिएको सरकारले अघिल्लो आर्थिक वर्षमा ५ करोड र आर्थिक वर्ष ७८÷७९ मा १४ करोड रुपियाँ विनियोजन गरेको छ ।तर,०७८÷०७९को बजेट अझै निकासा भएको छैन् ।
प्रदेश सरकारले पथरी देखि जाँते सम्मको ११ किलोमिटर वन क्षेत्रको सडकलाई ७ मिटर चौडाईको जाँते देखि फेदी सम्म ११ मिटर चौडाईको र पहाडी भेगको ७ किलोेमिटर क्षेत्रमा ५ दशमलव ५ मिटर चौडाईको कालोपत्रे सडक निर्माण गर्ने लक्ष्य लिएको थियो ।

प्रकाशित मिति: २०२१-१२-२७ , समय : ११:०५:४९ , २ वर्ष अगाडि