कांग्रेसका सबैभन्दा कान्छा उम्मेद्वार सुविनको चर्चा चुलियो

Enepal Patra Pvt. Ltd. , १२४०  पटक हेरिएको

पथरीशनिश्चरे \ पछिल्लो समय नेपाली कांग्रेसका कार्यकर्ता निक्कै महँगा हुँदै गएका छन् । पार्टी संगठनको कार्यक्रम होस, या आन्दोलनका कार्यक्रम हुन् । कार्यकर्ताले पहिले सोध्ने गर्छन्–खाजा, नास्ता, इन्धन र पाकेट खर्चको ब्यवस्था छकि छैन् । पार्टीमा स्वयंसेवकको खडेरी नै परेको छ । भनिन्छ– ‘मासवेस’ पार्टीको चरित्र यस्तै हुने गर्छ । क्रियाशील सदस्यता दिने पार्टीले आफ्नै अभियानमा कार्यकर्ता नपाउनु निक्कै दुखद पक्ष हो ।
तर, मोरङको पथरीशनिश्चरे –१ का २० वर्षीय सुविन पराजुली र उनको परिवार कांग्रेस भनिसक्दा मरिहत्ते गर्छ । उनका बुवा प्रदीप र आमा कविता मात्र होइन, हजुरबा डिल्लीराम र बुढाहजुरबा रुद्रप्रसाद पराजुली पनि पार्टीको कार्यक्रम हुँदा घरमा चाबी लगाएर निस्किन्छन् । भरखर बीए र एलएलबी अध्ययन गरिरहेका सुविन यतिबेला मोरङ कांग्रेसको महाधिवेशन चलिरहँदा सबैभन्दा बढी चर्चामा छन् । जिल्लामा सबैभन्दा कान्छा उम्मेद्वारका रुपमा चर्चा कमाएका सुविन पार्टी संगठनलाई बलियो बनाउन युवा परिचालनमा जोड दिने बताउँछन् । उनले भने–म पारिवारिक रुपमा कांग्रेस हुँ । कतिपय नेताका घरमा देशका सबै पार्टीका कार्यकर्ता छन् । चुनाबको बेला मत हाल्ने बिषयमा मारमुङ्ग्री चल्छ ।
सुविनको चारपुस्ता अहिले पनि उत्तिकै सक्रिय छ । परिवारको पार्टीमा भएको लगानी र योगदानलाई कदर गर्दै उनलाई जिल्ला सदस्य बनाउन पथरीशनिश्चरेका सबै क्षेत्रीय प्रतिनिधि एकैठाउँमा उभिने भएका छन् । सानै उमेर देखि राजनीति क्षेत्र रोजेका सुविन २०७१ देखि नेविसङ्घसँग जोडिएका हुन् । २०७४ सालमा उनी जीपी कोइराला अध्ययन केन्द्र मोरङको अध्यक्ष बने । जीपी कोइराला अध्ययन केन्द्रको अध्यक्ष बनेपछि सु्विनको राजनीतिक उचाई अझै बढेको छ ।
त्यसो त पार्टीले तय गरेको आन्दोलनको कार्यक्रममा सुविन सबैभन्दा अघि देखिन्छन् । आफ्नो हातले थाम्नै नसक्ने झण्डा बोकेर मैदानमा ओर्लिने पराजुली यो उमेरमा राजनीतिमा होमिएको देख्दा धेरैले केटाले बाटो बिरायो भने । आफन्तहरूले पढेर बिदेश जान सुझाए । कसैले राम्रो जागीर खान सल्लाह दिए । तर, सुविनलाई राजनीतिको भोक जागिसकेको छ । गोजीमा पैसा नभएपनि उनी कार्यक्रममा हिड्छन् । जहाँ पुग्छन् , त्यहीँ खान्छन् । साथीभाइ र अग्रज नेताको प्यारो कार्यकर्ता बनिसकेका सुविन भन्छन्–राजनीतिमा मात्र छुइन् । पढाई निरन्तर चलिरहेको छ । कांग्रेसलाई देशको पहिलो रोजाइको पार्टी बनाउने अभियानमा छु । उनले नेपाली कांग्रेस मोरङको जिल्ला सदस्य जितेर पथरीशनिश्चरे लगायत मोरङ क्षेत्र नं. ३ मा संगठित कांग्रेस बनाउन दाबी गरे ।

प्रकाशित मिति: २०२१-११-२७ , समय : २०:३२:४७ , २ वर्ष अगाडि