उर्लाबारीमा धमाधम उम्मेद्वारी घोषणा,क्षेत्रीय सभापतिले सहमति तोडेको आरोप

Enepal Patra Pvt. Ltd. , ११७८  पटक हेरिएको

उर्लाबारी, २८ भदौ । नेपाली कांग्रेस मोरङको क्षेत्र न.१ का क्षेत्रीय सभापति खड्ग फागोले सहमति र सहकार्य तोडेर एकपक्षीय रुपमा वडा वडा पुगेर क्षेत्रीय प्रतिनिधिका उम्मेद्वार घोषणा गरेपछि उर्लाबारी कांग्रेसलाई महाधिवेशनले तताएको छ ।
क्षेत्रीय सभापति फागोको नेतृत्वमा केही दिन अघि उर्लाबारी भित्र सर्वसम्मत नेतृत्व चयन गर्ने राजनीतिक सहमति भएको थियो । सहमति भएको भोलि पल्ट क्षेत्रीय सभापति फागोले उर्लाबारी –४ मा वडाबाट प्रतिनिधित्व गर्ने क्षेत्रीय प्रतिनिधिको उम्मेद्वारको नाम घोषणा गरेपछि फागोसँग असन्तुष्ट समूहले आइतबार उम्मेद्वार घोषणा गरेको छ । उर्लाबारीका अधिकांश पुराना पूराना कांग्रेस नेताहरूको कार्यक्रममा सहभागिता थियो । कांग्रेस महासमिति सदस्य ललित अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला सदस्य एवं नेपाल महिला संघका केन्द्रीय सदस्य सीता कार्की, जिल्ला सदस्य प्रकाश खड्गी , तरुण मोरङका सचिव सचिन शाक्य, नेपाल विद्यार्थी संघ मोरङका पूर्व सभापति मुक्तिप्रकाश न्यौपाने,युवा नेता सुभाष भण्डारी लगायतको उपस्थिति थियो । यस्तै कांग्रेसका पुराना नेता केशव कार्की, विजय कार्की,तेजकुमार रिजाल,विमल निरौला ,उर्लाबारी कांग्रेसका सभापति वीरबल थापा,युवा नेता भीम थापा लगायतको उपस्थितिमा भएको उम्मेद्वारी घोषणा कार्यक्रममा महासमिति सदस्य ललित अधिकारीले क्षेत्रीय सभापति फागोले सहमति तोडेर एक्लै हिड्ने रहर गरेपछि बाध्य भएर उम्मेद्वारी घोषणा गरेको बताउनु भयो । उहाँले राणा, राजा र माओवादीसँग लडेको कांग्रेसले आज आफ्नै नेतासँग लड्नु पर्ने अवस्था आएको बताउनु भयो । अधिकारीले कांग्रेसको महाधिवेशन सुरु भइरहँदा पार्टीका साथीहरू उम्मेद्वारी घोषणा गर्ने ठाउँको खोजिमा रहेको उल्लेख गर्नुभयो । आन्तरिक प्रजातन्त्र खोज्नुपर्ने अवस्था रहेको चर्चा गर्दै अधिकारीले कांग्रेसको बिचार मर्न नदिन साथीहरूले उम्मेद्वारी घोषणा गरेको बताउनु भयो ।
नेपाल महिला संघका केन्द्रीय सदस्य एवं मोरङ कांग्रेसका जिल्ला सदस्य सीता कार्कीले कांग्रेस बिचारले चल्ने बताउनु भयो । स्थानीय निर्वाचन पछि कांग्रेसमा मसलको बल बढेको उल्लेख गर्दै नेतृ कार्कीले कांग्रेस जोगाउने नेताहरूको उपस्थितिले कार्यक्रमको गरीमा बढेको बताउनु भयो । अर्का वक्ता उर्लाबारी कांग्रेसका सभापति बीरबल थापाले वडाहरूले सिफारिस गरेर पठाएका नामहरू काटेर क्षेत्रले १५६ जनाको नाम पठाएको बताउनु भयो । वडा र नगरबाट सिफारिस नभएका नामहरू बिरुद्ध नगरले छानविनका लागि उजुरी गरेको थापाको भनाई छ । उहाँले भन्नुभयो – अवैधानिक रुपमा जस्केलाबाट पठाइएका नाम काटिने छ । उहाँले जिल्ला सभापति समेतको उपस्थितिमा भएको सहमति क्षेत्रीय सभापतिले तोडेको आरोप लगाउँनु भया । पार्टी कब्जा गर्ने नीतिले पार्टीमा नेतृत्व प्राप्त भएपनि स्थानीय, प्रदेश र संघको निर्वाचनमा पार्टी हार्ने थापाको भनाई थियो । नेपाल तरुण दल मोरङका सचिव सचिन शाक्यले पोखरी फोहर भइसक्दा पनि कांग्रेस कार्यकताहरू पोखरीको डिलमा टुलुटुलु हेरेर बस्न नसक्ने बताउनु भयो । राणा ढालेको कांग्रेसका कार्यकर्ता कसैको डर र धम्कीले नगल्ने शाक्यको भनाई थियो । उहाँले संसार बदल्नु पर्छ भने पहिले आफूबाट नै सुरु गर्नु बताउँदै आफू नबदलिने र अनि अर्कालाई दोष लगाइरहने प्रवृतिले पार्टी कमजोर हुने धारणा राख्नुभयो ।
नेपाल तरुण दल उर्लाबारी उर्लाबारीका नगर सभापति नारायण सिटौलाले सञ्चालन गरेको कार्यक्रममा पूर्व विद्यार्थी नेताहरू मुक्तिप्रकाश न्यौपाने र भीम थापाले पनि बोल्नु भएको थियो । उर्लाबारी नगरपालिका कार्यलय अगाडि भएको कार्यक्रम सन्तोष भण्डारीको सभापतित्वमा भएको थियो ।
को को बने उम्मेद्वार ?
उर्लावारी नगरपालिका वडा नं. ४ को क्षेत्रीय प्रतिनिधिमा खुल्ला तर्फ नारायण सिटौला,सुभाष भण्डारी, कुलबहादुर प्रधान,राजन थापा,मेहरमान कार्की र तुलसी ढकालले उम्मेद्वारी दिने हुनु भएको छ । यस्तै समावेसी तर्फ आदिवासी जनजातिमा कुमार लामा, खस आर्यमा सुरेन्द्र निरौला,महिलामा मन्जु खड्का र निर्मला बिष्ट,दलितमा देवी नेपाली र मधेसीमा हिरा बनियाले उम्मेद्वारी दनिे हुनु भएको छ । यस्तै वडा सभापतिमा सन्तोष भण्डारी,उप सभापतिमा क्षितिज ढकाल र सचिवमा पोषण आचार्यले उम्मेद्वारी दिने हुनु भएको छ ।

प्रकाशित मिति: २०२१-०९-१३ , समय : १९:३६:२७ , ३ वर्ष अगाडि